

काठमाडौं । शुक्रबार तीनकुनेमा दुई जनाको ज्यान गरी भएको हिंसात्मक राजवादी आन्दोलनका कमान्डर विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू काठमाडौंको कुनै एक मन्दिरमा रहेको र नभागेको बताएका छन्।
आइतबार दिउँसो दुर्गा प्रसाईं नाम गरेको फेसबुकमा पोस्ट भएको भिडिओमा प्रसाईंले चैत १५ गते भएको घटनाप्रति प्रहरीसँग माफी पनि मागेका छन्।
प्रसाईं आफैले गाडी हाँकेर प्रहरीलाई पेलेर घेरा तोड्दै निषेधित क्षेत्र प्रवेश गरेका थिए। त्यसका लागि उनले माफी मागेको पनि भिडिओमा उल्लेख छ।
‘मान्छेका घरमा आगो लगाउने, तोडफोड नगर साथीभाइ हो भनेर मैले भनेको छु,’ उनले भने, ‘तर जुन घटना भएको छ त्यसमा दु:ख व्यक्त गरेको छु।’
उनले आफू काठमाडौंमै कुनै एउटा मन्दिरमा बसेको र सुरक्षित रहेको पनि उल्लेख गरेका छन्। ‘म सुरक्षित ठाउँमा बसेको छु। म भाग्नलाई जन्मिएको होइन,’ उनले भनेका छन्।
तीनकुनेमा आफू पुग्नुभन्दा १५ मिनेटअघि नै रणभूमि बनेको पनि उनको दाबी छ। उनले आफूजति प्रहरी र दिनदुखीलाई माया गर्ने मान्छे कोही नभएको पनि बताए।
‘मेरो कानको छेवैबाट गोली गयो। मैले कुरो बुझिसकेपछि मेरै गाडीमा अश्रुग्यास उत्रिएपछि यस्तो भएको हो,’ प्रसाईंले भिडिओमा भनेका छन्, ‘मलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ।’
शुक्रबार तीनकुने-कोटेश्वर-जडिबुटी क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट भएको थियो। शुक्रबार अपराह्नदेखि प्रसाईं फरार छन्।