किन रोकियो संसद बैठकको लाइभ ?-Sutra News

किन रोकियो संसद बैठकको लाइभ ?

आइतबार, १७ चैत्र २०८१

आइतबार, १७ चैत्र २०८१

काठमाडौं । आजको प्रतिनिधि सभा बैठकको लाइभ फिडसमेत संसद सचिवालयले दिएन। प्रतिनिधि सभा प्रवेशमा समेत कडाइ गरियो। पत्रकारको समेत नाम टिपेरमात्र मिडिया कक्षमा प्रवेश दिइएको थियो। संसद भवनको मूल गेटदेखि ग्यालरीसम्म तीनपुस्ते भर्ने व्यवस्था फेरि प्रचलनमा ल्याइएको छ।



पछिल्लो समय राजनीतिक उथलपुथल भइरहेको बेला बसेको संसद बैठक अचानक किन लाइभ रोकियो त ? सबैको चासोको विषय छ।

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले आइतबार संसदको लाइभ सुनियोजित ढंगले काटिएको आशंका गरे। ‘आजको संसदको लाइभ काटियो। त्यहाँ हाम्रो गम्भीर आशंका छ,’ उनले भने।

आइतबारको संसद बैठकमा गएको शुक्रबार तीनकुनेमा भएको हिंसात्मक राजावादी आन्दोलनका विषयमा विपक्षी दल र सत्ता पक्षबीच चर्चाचर्की भएको थियो। त्यसपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेट स्थगित गरे।

‘भित्र उस्तै भए त सत्तापक्षका माननीयजीहरूको त हामी प्रतिपक्षीका सांसदलाई भम्टिने र भौतिक आक्रमण नै गर्ने उहाँहरूको क्रियाकलाप थियो। त्यो देखेरै सभामुख पछि हट्नुभयो,’ उनले भने, ‘जसरी पनि रूलिङ गर्ने भनेर आउनुभएको सभामुख पछि हट्नुभएको छ। संसद बैठक स्थगन गर्नुभयो,’ उनले भने।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले पनि नियोजित रुपमा संसद बैठकको लाइभ काटिएको बताए। ‘सरकारले नियोजित रुपमा लाइभ काटेको छ। हामीले यस विषयमा सभामुखसँग कुरा गर्दैछौँ,’ अर्यालले भने।

त्यसअघि विपक्षी दलहरुले कुलमान घिसिङलाई सरकारले गरेको बर्खास्तीबारे सदनमा आएर प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै अवरोध गरेका थिए भने सत्तापक्ष दलका सांसदहरुले बैठक सञ्चालन गर्नुपर्ने भन्दै विपक्षीमाथि खनिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार