

गत शुक्रवार (चैत १५ गते) केन्द्रीय राजधानी काठमाडौंमा २ वटा ठूला शक्ति प्रदर्शन भए । एकातिर माओवादी केन्द्रको नेतृत्वमा विपक्षी तथा साना दलहरू प्रदर्शनमा उत्रिएका थिए भने अर्कोतिर मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा राजावादी समूहहरू प्रदर्शनमा उत्रिएका थिए । माओवादी केन्द्रको नेतृत्वको पक्षले सरकारविरुद्ध खबरदारी र राजावादीविरूद्ध प्रतिरोध गर्ने गरी प्रदर्शन गरेको थियो भने प्रसाईँ नेतृत्वको समूहले राजसंस्था पुनर्स्थापनाको एजेन्डामा शक्ति प्रदर्शन गरेको थियो ।
संख्यात्मक हिसाबले ठूलो भएको माओवादी केन्द्र नेतृत्वको शक्ति प्रदर्शन शालिन रह्यो । जहाँ कुनै उद्दण्ड प्रकृतिका घटना घटेनन् । तर, संख्यात्मक हिसाबले केही सानो राजसंस्थावादीको प्रदर्शन निकै अराजक बन्यो । जुन प्रदर्शन स्थल आन्दोलन होइन, युद्ध स्थल जस्तो बन्यो । जुन ठाउँमा २ जना होनहार युवाले ज्यान गुमाए । सुरक्षाकर्मी र प्रदर्शनरत पक्षको तर्फबाट दर्जनौँ घाइते भए । सँगै, ठूलो स्तरमा निजी र सार्वजनिक सम्पत्तिमा क्षति पुग्यो ।
करोडौँ पर्ने दर्जनौँ सवारी साधन जलाइयो भने सन्चो उत्पादन गर्ने आयुर्वेदिक उद्योग नै जलाएर नष्ट पारियो, निकै संवेदनशील नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा क्षति पुर्याइयो, एकीकृत समाजवादीको कार्यालय जलाइयो, केही प्रतिष्ठित मिडियाका कार्यालयमा तोडफोड र आगजनी गरियो । संख्या सानो भए पनि भिडले मच्चाएको अराजकता निकै ठूलो रह्यो । भाटभटेनी सुपर मार्केटमा गरिएको लुटपाटको घटनाले पनि अवस्था छर्लङ्ग पार्छ । कता–कता श्रीलंका र बंगलादेशको अराजक शैलीको रिहर्सल देखाउन खोजेको भान हुन्छ ।
जुन ढंगले घटना घट्यो, यसले एकातिर राजसंस्थावादीहरूको अराजक शैलीलाई प्रस्ट्याउँछ भने अर्कोतिर दुई तिहाइ बलियो भनिने सरकारको नाकामीलाई पनि देखाउँछ । यद्यपि, प्रदर्शनकारी जसरी अराजक बने, यसमा प्रदर्शनकारीको मात्रै दोष छैन, यसमा नाकाम सरकारको पनि दोष छ । जसले न प्रदर्शनकारीको तयारीलाई बुझ्यो, न त सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सक्यो । यो घटनालाई हेर्दा, प्रदर्शनको नेतृत्व गर्ने अराजक समूह जति जिम्मेवार र दोषी देखिन्छ, उत्तिकै जिम्मेवार र दोषी सरकार पक्ष पनि देखिन्छ ।
यो प्रकृतिको घटनाले जनतालाई त्रसित बनाएको छ । अन्तर्राष्ट्रिय समुदायमा नेपाल थप द्वन्द्वमा फस्दै गएको सन्देश दिएको छ । यो घटना जसरी घट्यो, यसलाई कुनै पनि कोणबाट सुखद मान्न मिल्दैन । यो घटनामा जिम्मेवार सबैमाथि कारबाही हुनुपर्छ । चाहे त्यो, अराजक प्रदर्शन निम्त्याउने राजसंस्थावादी पक्ष होस् वा चाहे सरकारवादी पक्ष ।
तीनकुनेमा राजसंस्थावादीहरूले जे–जस्तो अराजकता देखाए, यसमा राजसंस्थावादी मात्रै दोषी छैनन्, यसको पृष्ठभूमि संयम सरकारले नै तयार पारिरहेको देखिन्छ । सरकार स्वयंबाट नागरिकमा व्यवस्थाप्रति असन्तोष पैदा गराउने काम भएको छ । जनता यत्तिकै आक्रोशित भइरहेका छैनन् ।
गणतान्त्रिक सरकारले थोपरेको कुशासनले जनता निकै आक्रोशित छन् । यहाँ न सरकारले संवैधानिक जिम्मेवारी पालना गरेको छ, न त अभिभावकीय जिम्मेवारी नै । आज जसरी सुशासनको धज्जी उडाइएको छ, यसले आमलाई आक्रोशित बनाइरहेको छ । जुन आक्रोशलाई आज अराजकतावादीहरूले प्रयोग गर्न थालेका छन् । यो लज्जा स्थितिको निकास अहिलेको आवश्यकता हो ।
सरकार र सरकार नेतृत्वकर्तालाई प्रश्न छ, तिमी देशलाई द्वन्द्वतर्फ लैजान चाहन्छौँ वा शान्ति र समृद्धितर्फ ? यदि शान्ति र समृद्धितर्फ लैजान चाहन्छौँ भने जिम्मेवार बन, अभिभावकीय भूमिका देखाऊ । नत्र, देशबाट धपाइएका शासकहरूको इतिहास पढ र तयार बन ।