

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले राजसंस्था फर्काउने आन्दोलनका जनकमान्डर बनाइएका दुर्गा प्रसाईँलाई गुण्डानाइकेको संज्ञा दिएका छन् । राज्यले उनलाई पुलपुल्याउँदा अहिले वितण्डा निम्तिएको उनको भनाइ छ ।
आज भाटभटेनीले चैत १५ को घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका कर्मचारीहरूलाई सम्मान गर्ने कार्यक्रमपछि बोल्दै गुरुङ दुर्गा प्रसाईँमाथि खनिए । सरकारले व्यवसायीको सुरक्षा गर्न नसकेको भन्दै उनले आक्रोश पोखे ।
‘हामीले वर्षेनी ट्याक्स तिर्छौँ सरकारलाई । हाम्रो ट्याक्सबाट सरकारले सुरक्षामा खर्च गर्छ । तर, हामीलाई सुरक्षा खोइ ? हाम्रा दशौँ हजार भाइबहिनीको सुरक्षा खोइ ? दुलप्रसाद पराजुलीले मात्रै गरेर सुरक्षा हुन्छ ?’ राज्यले एउटा डनलाई पुल्पल्याएर राखेको हुँदा यो परिणाम आएको उनले बताए । उनको क्रियाकलापले राजसंस्था नआउने गुरुङले ठोकुवा गरे ।
‘मारवाडीले यस्तो गर्यो, त्यस्तो गर्यो भन्दै हिँड्छ । मारवाडी देशको नागरिक होइन ? मारवाडी भगाउन सम्भव छ ? देश कंगाल बनाउने ? दुर्गा प्रसाईँ गुण्डा नाइके हो । राज्यले पुलपुल्याउँदा आज यो परिणाम देखियो । उसको क्रियाले राजसंस्था फर्किँदैन, म ठोकुवा दिएर भन्छु । भाटभटेनीलाई लुटपाट गरेर राजसंस्था फर्किन्छ ? भाटभटेनीमा ढुंगा हानेर नेपालको संविधान संविधान मेटिन्छ ? हामी बुझ्दैनौँ ? यो सबै डकैत हो ।’
गुरुङले गत शुक्रबार तीनकुनेमा भएको राजावादी आन्दोलनमा मारिएको दुई जनाको परिवारिलाई सहयोग गर्ने घोषणा गरेका छन् । बुधबार भाटभटेनीले चैत १५ को घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका कर्मचारीहरूलाई सम्मान गर्ने कार्यक्रमपछि बोल्दै गुरुङ यस्तो घोषणा गरेका हुन् ।
सञ्चालक गुरुङले पत्रकार सुरेश रजकका परिवार ५ लाख र कीर्तिपुरका सविन महर्जनका परिवारलाई ३ लाख दिने घोषणा गरेका छन् । उनले राजासंस्था फर्काउने आन्दोलनका जनकमान्डर बनाइएका दुर्गा प्रसाईँलाई गुण्डानाइकेको संज्ञा दिएका छन् ।