

क्यालिफोर्निया । पछिल्ला दुई दशकमा पचास हजार भन्दा बढी नेपालीले अमेरिकामा शरणार्थी (रिफुजी ) वा शरण (असाइलम) को आधारमा स्थायी बसोबास (ग्रिन कार्ड ) प्राप्त गरेका छन्। अमेरिकी अध्यागमन सेवाका अनुसार, नेपालीहरू मुख्यतः १९९६-२००६ को माओवादी द्वन्द्वको प्रभाव देखाउँदै शरण पाउँदै आए ।
नेपालमा राजनीतिक अस्थिरता, हिंसा र जातीय तथा धार्मिक भेदभावका कारण धेरै नेपालीहरूले अमेरिका लगायतका देशमा शरण खोज्ने गरेका छन्। अमेरिकी अध्यागमन तथ्याङ्क अनुसार, पछिल्ला केही वर्षमा नेपालबाट शरण माग्नेहरूको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ।
नेपालमा २००६ मा माओवादी विद्रोही र सरकारबिच शान्ति सम्झौता भएसँगै द्वन्द्व औपचारिक रूपमा समाप्त भए तापनि, त्यसको प्रभाव अझै देखिन्छ। १० वर्षसम्म चलेको गृहयुद्धमा करिब १७,००० मानिस मारिए, हजारौँ हराए, र हजारौँले अन्य देशमा शरण लिने बाटो खोजे।
युद्धको समयमा धेरै नागरिकहरू माओवादी वा राज्य पक्षबाट प्रताडित भएको भन्दै विदेश पलायन भए। कतिपयलाई माओवादीले भर्ती गर्न खोजेको, कतिपयलाई सेना वा प्रहरीको प्रतिशोधको भाव साधेको थियो। द्वन्द्वको अन्त्य भए पनि पीडितहरूको अवस्था उस्तै रहेको भन्दै हजारौँ नेपालीहरू पछिल्लो दशकमा अमेरिकातिर पलायन भए ।
अमेरिकाको अध्यागमन तथा नागरिकता सेवा (यु एस सी आइ एस ) अनुसार, कुनै व्यक्तिले आफ्नो देशमा धार्मिक, जातीय, राजनीतिक वा सामाजिक उत्पीडन भोगेको प्रमाणित गर्न सकेमा, उसले अमेरिकामा शरण पाउन सक्छ।
जसको लागि कुनै पनि विदेशी नागरिकले अमेरिका प्रवेश गरेपछि १ वर्षभित्र शरणको निवेदन दिनुपर्छ। निवेदन दिने व्यक्तिले आफू माओवादी वा सरकारको टार्गेट भएको प्रमाणहरू पेस गर्नुपर्छ। वा अध्यागमन अदालतमा मुद्दा लड्नुपर्छ, जसका लागि वकिलको सहयोग आवश्यक हुन सक्छ।धेरै नेपालीहरूले पहिलो चरणमा विद्यार्थी वा पर्यटक भिसा लिई अमेरिका प्रवेश गर्ने र त्यसपछि शरण निवेदन दिने प्रवृत्ति देखिएको छ।
विशेषज्ञहरूका अनुसार, पछिल्लो समय अमेरिकामा नेपाली आप्रवासीहरूको सङ्ख्या बढ्नुका प्रमुख कारण २००६ पछि नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि राजनीतिक अस्थिरता कायमै छ। सरकार बारम्बार परिवर्तन हुने, कानुनी शासन कमजोर हुनु, तथा भ्रष्टाचारले नेपाली जनताको भविष्य अन्योलग्रस्त बन्दै गएको छ। सरकारले द्वन्द्वकालीन पीडितहरूको उचित व्यवस्थापन गर्न नसक्दा, धेरै नेपालीहरू विदेश पलायन भएका छन्। नेपालमा बेरोजगारी दर उच्च छ, जसले गर्दा लाखौँ युवा वैदेशिक रोजगारीमा निर्भर छन्।
अमेरिका पुगेका नेपालीहरू उच्च तलब पाउने र राम्रो जीवनशैलीको आशामा त्यहाँ बस्ने प्रयास गर्छन् ।अमेरिकाले शरणार्थीहरूप्रति सहानुभूतिपूर्ण नीति लिन्छ, जसले गर्दा धेरै नेपालीहरूले शरणको निवेदन दिएका दिन्छन्
२०१६ अघि नेपालीहरूका लागि शरण पाउन सजिलो थियो, किनभने अमेरिकी अधिकारीहरूले द्वन्द्वको असर अझै रहेको ठानेका थिए तर शरण पाउनका लागि कतिपय नेपालीहरूले झूटो विवरण दिने गरेको तथ्य विभिन्न अनुसन्धानहरूमा देखिएको छ र कतिपय व्यक्तिले शरण पाउनका लागि नक्कली धम्की पत्र बनाउने गरेका छन् । त्यसै गरी कतिपयले आफूलाई माओवादीले धम्क्याएको वा राज्य पक्षबाट यातना दिइएको भन्दै झूटो विवरण पेस गर्छन्।
नेपालमा अहिले द्वन्द्व नभए पनि, धेरै नेपालीहरू माओवादीको नाम लिएर अमेरिका जाने प्रवृत्ति बढिनै रहेको र झूटो विवरण दिने प्रवृत्ति बढेपछि, अमेरिकी अधिकारीहरूले नेपालीहरूका शरण निवेदन थप कडाइका साथ जाँच गर्न थालेका छन्। “यदि कोही साँच्चिकै पीडित छन् भने, उनीहरूलाई सहयोग गर्नु पर्छ। तर, झूटो विवरण दिई ग्रिन कार्ड लिने चलन गलत हो,”
झूटो विवरण दिने प्रवृत्तिका कारण भविष्यमा नेपालीहरूका लागि शरण प्रक्रिया कठिन हुन सक्छ। अहिले अमेरिकामा नेपाली समुदायमा कानुनी मुद्दा बढ्न थालेका छन्, जसले सम्पूर्ण नेपालीहरूलाई असर गर्न सक्छ।
५०,००० भन्दा बढी नेपालीहरूले अमेरिकी ग्रिन कार्ड प्राप्त गरिसकेका छन्, भने नयाँ आवेदनहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ। वास्तविक पीडितका लागि शरणको बाटो जीवन रक्षक बन्न सक्छ तर, झूटो विवरण दिएका कारण भविष्यमा नेपालीहरूको शरण निवेदनप्रति अमेरिकी सरकारको कडाइ भएको छ ।
अबका दिनहरूमा नेपालबाट अमेरिका गएर बस्न चाहनेहरूका लागि शरण पाउने सम्भावना झन् कठिन हुन सक्ने देखिन्छ ।