छायामा पर्‍यो समाजवादीको आन्दोलन, मुद्दाहरू पनि सेलाए-Sutra News

छायामा पर्‍यो समाजवादीको आन्दोलन, मुद्दाहरू पनि सेलाए

बुधबार, २० चैत्र २०८१

बुधबार, २० चैत्र २०८१

काठमाडौं । चैत १५ गते नेकपा (माओवादी केन्द्र)सहित ४ दलले समाजवादी मोर्चाको नाममा सरकारविरुद्ध खबरदारी र राजावादी विरुद्ध प्रतिरोध गर्ने गरी काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन गरे । गणतन्त्रवादीको नाममा भएको उक्त प्रदर्शन निकै भव्य रह्यो ।



गृहमन्त्रालयकै तथ्यांकअनुसार जुन प्रदर्शनमा ३५ हजारको सहभागिता थियो । जुन प्रदर्शनलाई ४ दलका मुख्य नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, महिन्द्र राय यादव, नेत्रविक्रम चन्द ‘विप्लव’लगायतले सम्बोधन गरेका थिए ।

शीर्ष नेताहरूले आफ्नो सम्बोधन सरकार र राजसंस्थावादी विरुद्ध लक्षित गरेका थिए । “यदि सरकारले यो खबरदारी सभाको सन्देशलाई गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने कुराको संकेत यही सभाले गरेको छ, त्यसैले गम्भीर रूपले लिन चुनौती दिन्छु”, सभालाई सम्बोधनका क्रममा प्रचण्डले भनेका थिए, “पूर्वराजा फर्किने खोजे, त्यो अर्को गल्ती हुनेछ र पूर्वराजाले भोग्ने बाँकी केही रहने छैन ।”

सम्बोधनका क्रममा विप्लवले व्यवस्था फर्काउने दुस्साहस कसैले गरेमा महँगो पर्ने चेतावनी दिएका थिए । “जनतालाई फेरि पैंतालामुनि राख्ने दुस्साहस कतैबाट नहोस्, यदि भयो भने त्यो महँगो पर्नेछ”, विप्लवले भनेका थिए ।

दुवैतर्फ एकै पटक प्रहार गर्ने गरी प्रदर्शन र सभा गरिएको भए पनि सहभागी नेता तथा कार्यकर्ता निकै शालीन देखिए । सशस्त्र युद्धको धङधङी बाँकी नै रहेको भनिए पनि विप्लव नेतृत्वको प्रदर्शन पनि निकै सौम्य देखियो ।

तर, प्रभाव रहेन

गृहमन्त्रालयले ३५ हजारको सहभागिता रहेको रिपोर्ट बनाए पनि दलहरूले उक्त दिन ७० हजारभन्दा बढीको सहभागिता रहेको दाबी गरेका छन् । प्रचण्डले ऐतिहासिक प्रकृतिको सभा भनेका थिए ।

जुन प्रदर्शनलाई सरकारले समेत तारिफ गरेको छ । संसद बैठकलाई सम्बोधनका क्रममा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सानदार प्रदर्शन’ भन्दै तारिफ गरेका थिए ।

“यस सम्मानित सदनमा राम्रो उपस्थिति रहेका दलहरूको मूल नेतृत्वमा समाजवादी मोर्चाले काठमाडौंको प्रदर्शन मार्गीमा भव्य सभा गर्‍यो, आफ्नो धारणा सार्वजनिक गर्‍यो, सरकारलाई खबरदारी गर्‍यो, संविधान र व्यवस्थाप्रति आफ्नो प्रतिबद्धता जनायो”, चैत १८ को संसद बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भनेका छन्, “शालीन जुलुससहित भएको त्यस कार्यक्रममा आयोजकहरूलाई धन्यवाद ज्ञापन पर्दछु ।”

एकातिर संख्यात्मक हिसाबले ठूलो र अर्कोतिर शालीन प्रदर्शन भएकोमा सरकारबाट समेत तारिफ पाए पनि प्रदर्शनको प्रभाव भने खास रहेन । विशेषगरी राजावादीको आक्रामक प्रदर्शनले समाजवादी मोर्चाको प्रदर्शन प्रभावहीन बन्न पुग्यो ।

उक्त दिन मोर्चाको नेतृत्वमा भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन हुँदै गर्दा राजावादी समूहले तीनकुने क्षेत्रमा प्रदर्शन गरेको थियो । जुन प्रदर्शन निकै आक्रामक रह्यो ।  गृहमन्त्रालयको रिपोर्टअनुसार उक्त प्रदर्शनमा जम्मा ४ हजार सहभागी थिए । तर, त्यसको प्रभाव भने ४ लाखभन्दा बढीको जस्तो पर्‍यो ।

२ जनाको मृत्यु भएको उक्त प्रदर्शनमा दर्जनौँ व्यक्ति घाइते भए भने करोडौँको तहमा सार्वजनिक तथा निजी सम्पत्तिमाथि क्षति पुग्यो । जुन घटनाका आधारमा थुप्रै राजावादी पक्राउ परेका छन् भने स्वयं प्रदर्शनको नेतृत्वकर्ता दुर्गा प्रसाईँ फरार छन् ।

आक्रामक र ठूलो क्षति पुगेको कारण सञ्चार माध्यममा पनि उक्त प्रदर्शनकै चर्चा भयो । जसको कारण भव्य र सौम्य बनेको समाजवादी मोर्चाको प्रदर्शन छायामा पर्‍यो ।

मुद्दाहरू पनि ओझेलमा परे

विशेषगरी समाजवादी मोर्चाले सरकारले गरेका कतिपय मनलागी निर्णयको विरोध गरिरहेको छ । जसमा कुलमान घिसिङको बर्खास्ती सबैभन्दा महत्वपूर्ण एजेन्डाको रूपमा रहिरहेको छ ।

यद्यपि, आन्दोलन सुस्ताउँदै गर्दा मुद्दा पनि ओझेलमा पर्न थालेको छ । राजावादीको विषय गलत शैलीबाट उचाइमा पुग्दै गर्दा समाजवादी मोर्चाका एजेन्डा सेलाएका छन् ।

संसद बैठकमै पनि मोर्चाले उठाएको मागप्रति प्रधानमन्त्री ओलीले खास चासो दिएनन् । पटक–पटक संसद बैठक अवरुद्ध बनेको कुलमान घिसिङ बर्खास्तीको विषयमा प्रधानमन्त्रीले ‘एउटा कर्मचारीप्रति धेरै अल्झन आवश्यक होइन’ भन्ने सजिलो जवाफ फर्काए ।

“सुशासन र त्यसमा कम्प्रमाइज भएका विषयमा प्रश्न उठ्नु स्वाभाविक छ, सरकारका कामकारबाहीप्रति प्रश्न उठाउने वा समर्थन गर्ने स्थल नै यस सम्मानित सदन हो”, ओलीले संसद बैठकलाई सम्बोधनका क्रममा भनेका छन्, “तर अहिले विषय सामान्य छ, एक जना कर्मचारीको विषयमा प्रश्न उठेको छ, सदन अवरुद्ध छ, महत्वपूर्ण संसदीय कार्यमा बाधा पुगेको छ ।”

उनले विभागीय मन्त्रीले आफू अनुकूलको कर्मचारी ल्याउने वा नभएमा फाल्ने कुरा सामान्य भएको भन्दै मोर्चाको मागलाई बेवास्ता गरिदिए । उनले अदालतमा प्रवेश गरिसकेको विषयमा धेरै बोल्नु आवश्यक नभएको भन्दै पन्छिए ।

ओलीले सम्बोधन गरेयता तीन वटा संसद बैठक बसेका थिए । मंगलबार हिउँदे अधिवेशनको अन्तिम बैठक बसेको थियो । तर, मंगलबारको बैठक राप्रपाका सांसद दीपक बोहराको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भयो ।

संसद अधिवेशन नै स्थगित भएसँगै मोर्चाले उठाएका मुद्दा पनि करिब ओझेलमा परेका छन् ।

माओवादी सचिव भन्छन्– सुस्ताए जस्तो, देखियो सुस्ताएका छैनौँ

नेकपा (माओवादी केन्द्र)का सचिव दिनानाथ शर्माले तत्कालका लागि सुस्ताएको जस्तो देखिए पनि समाजवादी मोर्चाले आन्दोलनलाई नरोकेको बताएका छन् । वर्तमान सरकार र राजावादीविरुद्ध गाउँ–गाउँदेखि थप आक्रामक अभियानको तयारीमा मोर्चा रहेको उनको भनाई छ ।

“पार्टीगत रूपमा हामीले मधेशमा जागरण अभियान पुनः सुचारु गरिएको छ, सँगै अब सबै जिल्ला स्तरमा छिट्टै कार्यक्रम गर्ने तयारी मोर्चागतरुपमा थालिएको छ”, शर्माले भनेका छन्, “तत्कालका लागि सुस्ताएको देखिए पनि हामीले अभियान छाडेका छैनौँ, हामी सुस्ताउने पक्षमा छैनौ ।”

राजावादी र अहिलेका सत्ताधारीविरुद्ध एकै पटक अभियान चलाउने अवस्थामा आफूहरू रहेको उनले बताए । “वर्तमान सत्ता नेतृत्व भ्रष्ट भयो, अहिले देखिएको निराशाको कारण पनि यही नेतृत्व हो भन्ने निष्कर्ष हाम्रो हो”, उनले भनेका छन्, “हामी अहिलेको सत्ताविरुद्ध र राजावादीविरुद्ध एकै पटक लड्ने गरी तयारी गर्दैछौं । जनताको बुझाई पनि सोही खालको छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार