

काठमाडौं । मेडिकल राहतसहित नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार गएको छ। म्यानमारमा गत साता गएको विनाशकारी भूकम्पका कारण व्यापक जनधनको क्षति भएपछि सरकारले मेडिकल राहतसहितको नेपाली सेनाको टोली बुधबार त्यसतर्फ पठाएको हो।
प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम,४ जना बन्दोबस्ती सहायता टिम र छजना क्रु मेम्बरसहित २२ सदस्यीय टोली नेपाली सेनाको (CN-235 CASA) विमानबाट म्यानमार गएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
विभिन्न प्रकृतिका आवश्यक औषधि एवं इक्युप्मेन्टहरूसहित उक्त टोलीमा सर्जन,अर्थोपेडिक,मेडिसिन चिकित्सक,नर्स तथा प्यारामेडिकहरू छन्। निर्देशनालयका अनुसार उक्त टोली करिब एक साता म्यानमारमा भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिनेछ।