आफ्नैले आफ्नैसँग लडेको तीनकुनेको ‘युद्ध’मा को थिए कौरव सेना ?-Sutra News

आफ्नैले आफ्नैसँग लडेको तीनकुनेको ‘युद्ध’मा को थिए कौरव सेना ?

बुधबार, २० चैत्र २०८१

बुधबार, २० चैत्र २०८१

काठमाडौं । महाभारतको अन्तिम युद्धमा कौरवसेनाको तर्फबाट तीन र पान्डवको तर्फबाट १५ गरि जम्मा १८ योद्धा जिवित थिए। त्यो युद्धमा जति पनि योद्दाहरु लडे ती सबै आफ्ना र आफन्त नै थिए। वास्तवमा युद्धमा को आफ्नो को पराइ भन्ने भेद हुँदैन। त्यसैले पनि भन्ने गरिन्छ- प्रेम र युद्धमा सबैकुरा जायज हुन्छ।



महाभारतमा पनि जब युद्धका लागि कृष्णलाई सारथि बनाएर मैदानमा गएका अर्जुनले बिरक्तिदै भनेका थिए- हे कृष्ण ! म आफन्तको छातीमा कसरी गोली चलाउ? कसरी आफन्त मरेको हेरु ? म यो सब देख्न सक्दिन कृष्ण।’

जवाफमा कृष्णले अर्जुनलाई जगाउदै भनेका थिए- ‘अर्जुन यो धर्मयुद्द हो। पापी विरुद्धको लडाइ हो। त्यसैले उठाउ धनु र भेदन गर अर्जुन। आफन्त मर्यो या पराइ मर्यो भन्ने चिन्ता नगर। शरीर त एकदिन नासिन्छ तर आत्मा कहिले मर्दैन। तिमीले कसैको पनि आत्मालाई मार्न सक्दैनौ, काट्न पनि सक्दैनौ। मात्र तिमीले पापीहरुको आत्मालाई तिनका शरीरबाट बिच्छेद गराउने छौ। र यतिबेला त्यो आवश्यक पनि छ।’

कृष्णको यही कुराले अर्जुन युद्ध गर्न तयार भएका थिए। भनिन्छ- महाभारतको सिङ्गै युद्ध कृष्णको खेल थियो। कौरव सेनाले कृष्ण केही होइनन् भनेर सबैमा भ्रम छरेका थिए।

यो त थियो महाभारतको प्रसंग, अब आउनुहोस्- आफ्नै प्रसंगमा जाऊ।

आफू राजा भएपछि हिजो ज्ञानेन्द्र शाहले तात्कालिन पार्टी र नेताहरूलाई ‘तिनीहरू कोहि होइनन् र जनता भनेका पनि कोहि होइनन्’ अनि आफैलाई मात्र सर्वोच्च सम्झिए। त्यसैले त उनी पतन भए। २३८ वर्षीय शाही राजतन्त्र पतन भयो, ज्ञानेन्द्रको अहमकै कारण राजसंस्था नराम्रोसँग ढल्यो।

जस्तो कि, हिजो महाभारतमा कौरवहरुको दुस्चरीत्रबाट सारा पान्डव पक्षका मानिसहरु भड्किएका थिए। युद्ध पछि मात्रै त्यो युद्ध किन र कस्का लागि थियो भनेर बाच्न सफल भएकाहरुले एकपटक सोच्ने छन्। जित्नेहरु त अझै हौसियलान् तर हार्नेहरुले ‘ओहो, हामीले धेरै गुमायौ बरु सुरुमै सम्झौता गरेको भए पनि हुन्थ्यो’ भनेर सोच्लान् नि !

गएको १५ गते तिनकुने-कोटेश्वरको रणमैदानमा को थियो कौरव सेना ? राज्यपक्ष कि वा राजावादी पक्ष ? राजावादीहरुको उदेश्य राजा पुनर्स्थापना थियो भने सरकार युद्धबाट स्थापित गणतन्त्रलाई जसरी पनि बचाउ गर्न चाहन्थ्यो।

अहिले हामीमाझ उब्जिएको परिस्थिति हेर्दा, न ज्ञानेन्द्रले ‘आफ्नालाई मारेर भो मलाई राजा बन्नुछैन’ भन्न सक्छन् न त दुईतिहाइको दम्भमा नाचिरहेको सरकारले ‘भो जनता मार्न हुँदैन बरु राजालाई पनि एउटा स्पेस दिउँ र यो धमिलिएको परिस्थितिलाई सङ्ग्लो पार्दै अगाडि बढु’ भन्न सक्छ। यी दुवै पक्षले आफ्नो अडान नछोड्दाकै उपज हो- १५ गतेको परिस्थिति।

गणतन्त्रवादी र राजावादीहरुको मिलन बिन्दु कहाँ हो, के हो, शर्त के हुन्? पहिला उनीहरू यसबारे स्पष्ट होऊन्। किनकी अब दुवै पक्षले आ-आफ्नो हठ छोडेर मिलनबिन्दु खोज्ने बेला आयो। असन्तुष्ट बर्गहरु दिन प्रतिदिन बढिरहेका छन्। वर्तमान राम्रो भएको भए मानिसले अतीतलाई सहजै भुल्नसक्छ तर वर्तमान अतीत भन्दा पतित हुँदै गएपछि मानिसले हिजो सम्झिन्छ र भन्छ- ‘आज भन्दा त हिजो राजाको पालामै राम्रो थियो।’

१५ गतेको राजावादीहरुको जुलुसको कारण पनि हिजो भन्दा आज बिग्रेकाले नै भएको हो कि ! त्यो युद्धमा कौरव सेना उनीहरू स्वयं थिए कि ! यसबारे कसैले समीक्षा गरेनन्। वश, एक अर्कालाई आरोप-प्रत्यारोप गरेर बसिरहेका छन्। राजावादीहरूले सरकार पक्षका सेनाहरुलाई कौरव सेना भनिरहेका छन्। अनि सरकारले पनि पूर्वराजाले यसबारे जिम्मा लिनुपर्ने भन्दै आएको छ।

त्यसो भए आखिर जिम्मेवार को त ? दुवैले बेलैमा समीक्षा गरुन्। किनकी दुवै पक्षको हठले गर्दा आगजनी भयो। द्वन्द्व भयो। लुटपाट भयो। सबैभन्दा दुखको कुरा- दुई युवकले अनाहकमा कलिलै उमेरमा जीवन समाप्त गर्नुपर्यो। एकातिर यो अवस्थालाई निम्ता गर्ने त स्वयं सरकार नै थियो भने अर्कोतिर राजावादीको त्यो अराजकता पनि हदभन्दा माथि थियो।

पूर्वराजाको घाउ बेलाबेलामा बल्झिरहन्छ। यो निको भएको छैन। माओवादी युद्धमा परेका पीडितले अझैसम्म न्याय नपाएको गुनासो गरिनै रहेका छन्। बृहत शान्ति सम्झौता एक धोका थियो भनेर अझैसम्म माओवादीहरु भन्दै छन्। असन्तुष्टिहरुको पुर्ण इलाज नगरेसम्म कौरव सेना र पान्डव पक्षबिच बेलाबेलामा युद्द चलिरहन्छ। अब हामी जनता पो सचेत हुने बेला आयो कि ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार