

काठमाडौं । प्रमुख मल्टिप्लेक्स चेनले फिल्म ‘वसन्त’को अग्रिम टिकट बिक्री खुलाएका छन्। ठूलो चेन क्यूएफएक्सले शुक्रबारको लागि ६५ शो दिएको छ। आईएनआईले १६ शो प्रदान गरेको छ।
अन्य हलले भने बुधबार बेलुकासम्म शो खुलाउने बताइन्छ। देशभरी भने यस फिल्मले ३ सय हाराहारीमा शो पाएको छ। गीत र ट्रेलरबाट राम्रो हाइप प्राप्त गरेको फिल्मले उत्साहजनक शो पाउनसक्छ।
प्रकाश सपुत र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको यो मल्टिस्टारर फिल्मलाई विशेषगरि मल्टिप्लेक्सले उच्च शो दिन सक्छन्। शुक्रबार अन्य ठूला फिल्म नभएको र प्रदर्शनरत फिल्मको अकुपेन्सीमा गिरावट आइरहेकाले ‘वसन्त’को लागि राम्रो ओपनिङको मौका हुनसक्छ।
‘वर्ड अफ माउथ’ बलियो आए, फिल्मको ओपनिङ राम्रो हुनसक्ने अनुमान गर्न सकिन्छ। आफ्नो जीवनका अनुभवलाई समेट्दै सपुतले निर्देशन र निर्माण गरेको ‘वसन्त’लाई केन्द्रीय चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्रसहित प्रदर्शन अनुमति दिएको छ।
फिल्मको रनटाइम २ घण्टा ४० मिनेट तय छ। कुनै कैंचीबिना फिल्मको सेन्सर पास भएको ‘वसन्त’का निर्माण प्रमुख दिल श्रीशले जानकारी दिए।
यो फिल्ममा प्रकाश र स्वस्तिमाका अलवा प्रभात पाल ठकुरी, खड्गबहादुर पुन, शिभान्सी श्रीको पनि अभिनय रहेको छ। गलबन्दी प्रोडक्सनबाट बनेको यो फिल्मको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा छन्।
कार्यकारी निर्मातामा बिरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली छन्। मुख्य सह–निर्देशन सुनिल विकको छ। प्रोजेक्ट हेड दिल शिरीष हुन्।