रास्वपाको ‘जन यात्रा’ चितवनबाट शुभारम्भ हुँदै-Sutra News

रास्वपाको ‘जन यात्रा’ चितवनबाट शुभारम्भ हुँदै

बुधबार, २० चैत्र २०८१

बुधबार, २० चैत्र २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनबाट ‘जन यात्रा’ शुभारम्भ गर्ने भएको छ । संवाद र सम्बोधनसहित सातै प्रदेशमा हुने उक्त अभियान चैत्र २३ गते शनिवारबाट सुरु हुने भएको छ ।



सहकारी ठगी प्रकरणका कारण पार्टी नेतृत्वमा नरहेका रवि लामिछाने साढे पाँच महिनामा फेरि पार्टी नेतृत्वको जिम्मेवारीमा फर्केका छन् । सभापति लामिछानेले सोमबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकबाटै सरकारले आफूमाथि गरेको ज्याजती आम चितवनवासीलाई सुनाउने उद्घोष समेत गरेका थिए ।

पार्टीको जिम्मेवारीमा फर्किए पश्चात लामिछाने पहिलो पटक सार्वजनिक कार्यक्रमका रुपमा उक्त अभियानमा सरिक हुँदैछन् । उक्त अभियान चितवनबाट सुरुभई बागमती प्रदेशका अन्य स्थानसहित सातै प्रदेशमा पुगिने जनाईएको छ । ‘जन यात्रा’मा जोडिएकाहरुसंग संवाद गर्दै उठान हुने कुराहरुलाई सम्बोधन गर्दै अगाडी बढ्ने आयोजकले जनाएको छ ।

देशमा व्याप्त भ्रष्टाचार, कुशासन र गलत नीति तथा गतिविधिहरू विरुद्धको लडाईँमा आवाज अझ बढी बुलन्द पार्न ‘जन यात्रा’मा आम नागरिक तथा पार्टीका नेता कार्यकर्ता जोडिन समेत आयोजकले आग्रह गरेको छ । शनिवार दिउँसो २ बजे भरतपुरको गेष्ट हाउस चौरबाट सुरु हुने उक्त ‘जन यात्रा’मा पार्टी सभापति लामिछाने, शिर्ष नेता लगाएत प्रदेश तथा जिल्ला तहका नेताहरु जोडिने जनाइएको छ ।

सभापति लामिछानेले सत्ता गठबन्धनबाट अर्को प्रहार हुन सक्ने भएकाले पार्टी संरचना अझै सबल र सशक्त हुनुपर्नेमा समेत जोड दिदै आएका छन् ।

विभिन्न सहकारी ठगी आरोपमा चार वटा जिल्ला अदालतमा मुद्दा झेलिरहेका उनी ८४ दिन कास्की प्रहरीको हिरासतमा बसेका थिए । मंसिर १० गते जिल्ला अदालतले कैफियतसहित ६५ लाख धरौटीमा छोड्न आदेश दिएपछि लामिछाने रिहा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार