

काठमाडौं । गएको फागुन २३ गते बिर्तामोडमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूले ज्ञानेन्द्र शाहलाई पूर्वराजा नभनेर राजा नै भन्ने बताए।
‘पूर्व भनौं कि राजा भनौं, पूर्वै हो, तर म राजा भन्छु’, उनले भनेका थिए, ‘इन्टरनेसनलमा पनि चलन के छ भने प्रेसिडेन्ट भइसकेको मान्छेलाई अमेरिकामा जानुभयो भने राष्ट्रपति नै भनिन्छ, जिमी कार्टर नेपाल आउँदाखेरि हामीले मिस्टर प्रेसिडेन्ट भनेर नै एड्रेस गरेका थियौं।’
त्यसक्रममा कोइराला पूर्वराजाप्रति निकै नरम सुनिएका थिए। तर, राजा फर्कने सम्भावनाका विषयमा उनले भनेका थिए, ‘मलाई लाग्दैन राजा फर्किन्छन्। माईखोलामा यो १०-१५ वर्षमा धेरै पानी बगिसक्यो। मलाई विश्वास छैन, तर कोसिस मान्छेले गरिराख्या हुन्छ।’
उनले यसरी भनेको महिना दिन नबित्दै गएको १५ गते तीनकुनेमा राजावादी हिंसात्मक आन्दोलनले २ जनाको ज्यान गयो। थुप्रै घाइते भएका थिए भने सर्वसाधारणका घर, व्यापारिक प्रतिष्ठानहरू, सञ्चारमाध्यम, राजनीतिक पार्टीका कार्यालय तथा सरकारी र निजी दर्जनौं सवारीसाधनमा तोडफोड र आगजनी भएको थियो।
सरकारले भने उक्त हिंसात्मक प्रदर्शनमा पूर्वराजा शाह जोडिएको, उनले सम्झौता उल्लंघन गरेको निष्कर्ष निकालेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सोमबार बोल्दै आपराधिक घटनामा कसैले पनि उन्मुक्ति पाउनुहुँदैन, पूर्वराजाले फेरि राजा बन्छु भन्ने चाहेको हो भने पछिल्ला शंखलाबद्ध घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने भनेका छन्।
तर, निर्मल निवासले भने राजावादी प्रदर्शनका क्रममा भएका हिंसा, तोडफोड, आगजनी तथा लुटपाटको जिम्मेवारी नलिने भएको छ। पूर्वराजा शाहका संवाद सचिव डा. फणिराज पाठकले विभिन्न संचारमाध्यममा चैत १५ गतेको प्रदर्शन पूर्वराजा ज्ञानेन्द्रको निर्देशनमा नभएको दाबी गर्दै त्यस दिन जसले प्रदर्शनको आयोजना गरेको हो, उही घटनाको जिम्मेवार हुने बताएका छन्।
त्यसपछि अहिलेसम्म पनि उक्त प्रदर्शनको विरोधमा सत्तापक्ष, प्रमुख प्रतिपक्ष, अन्य विपक्षी, मधेशकेन्द्रित दल र अन्य दलका नेताले कडा शब्दमा घटनाको निन्दा र भर्त्सना गरिरहेका छन्। आन्दोलनमै सहभागी भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि घटना हिंसात्मक भएको कुरा स्वीकारेको छ।
तर, कांग्रेसको भावी नेतृत्वका लागि अभियान चलाइरहेका कांग्रेस नेता डा. शेखर कोइराला राजावादीको वितण्डाबारे अस्वाभाविक ढंगले मौन रहँदै आएका छन्। अघिपछि सरकारले नियमित गरिरहेका गतिविधिमा फ्याट्ट प्रतिक्रिया दिइहालने शेखर अहिले मौन रहनु निकै रहस्यपूर्वक हेरिएको छ।
राजावादीको उक्त हिंसात्मक आन्दोलनले नेकपा एकीकृत समाजवादीको कार्यालय, जडिबुटीको सञ्चो औषधि कारखानादेखि अन्नपूर्ण मिडियाको अफिससम्म आगो लगाउने र तोडफोड भयो। भाटभटेनी स्टोरमा लुटपाटदेखि सर्वसाधारणका घर, कार्यालय, सरकारी सवारी र सम्पत्तिमा समेत तोडफोड, लुटपाट र आगजनीका गम्भीर घटना भए।
त्यसपछि घटनाबारे पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले औपचारिक विज्ञप्ति निकालेर ‘तोडफोड, हिंसा, अराजकताको निन्दा गरौं, शान्ति र संविधानकै मार्गबाट अघि बढौं’ भनेर विज्ञप्ति निकाले। सभापति शेरबहादुर देउवाले राजा नहुँदा नै पूर्वराजा ज्ञानेन्द्रले यस्तो हर्कत गराएको भन्दै आलोचना गरे।
अरू नेताहरूले पनि सञ्जालदेखि सार्वजनिक कार्यक्रमसम्म पूर्वराजाकै योजनाकार रहेर प्रदर्शनलाई अराजक बनाएको भनेर आलोचना गरेका छन्। पूर्वराजाले नै कमान्डर बनाएका दुर्गा प्रसाईंले राजावादीको कार्यक्रमलाई अराजक बनाएको सरकार र दलहरूले आरोप लगाए। पदाधिकारी बैठकले पनि उक्त वितण्डाको जिम्मा पूर्वराजाले लिनुपर्ने निर्णय गरेको थियो।
तर, शेखरले कुनै प्रतिक्रिया दिन आवश्यक ठानेनन्। यस अगाडिका गतिविधि हेर्दा शेखरको स्वभाव यस्तो छैन। सामान्य घटनामा पनि फेसबूक, ट्विटर सबैतिर मत जाहेर गरिहाल्थे। अरूबेला पार्टीको लाइनविपरीत सरकारको आलोचना गर्ने उनी राजावादॆ हिंसात्मक आन्दोलनबारे अझै मौन छन्।
कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले पार्टीले औपचारिक रूपमा बोलेपछि कुनै प्रतिक्रिया नदिएको बताए।
‘चैत १५ गतेको विषयमा पार्टीले औपचारिकरूपमा बोल्यो। पदाधिकारी बैठकले पनि निर्णय गर्यो। महामन्त्रीहरूले विज्ञप्ति निकाल्नुभयो,’ थपलियाले भने, ‘पार्टीले बोलेको विचार नै आधिकारिक हो। त्योभन्दा फरक विचार उहाँको छैन।’