

काठमाडौं । मंगलबारदेखि प्रशारणमा आएको कमेडी रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन’का कलाकारले दर्शक हँसाउन सफल भएनन्।
विशाल भण्डारीको निर्देशनमा आएको पहिलो भागमा प्रस्तुत भएका अधिकांश नाम चलेका कमेडीयनहरु प्रस्तुतिले दर्शकको अपेक्षा पुरा गर्न नसकेको देखिएको छ।
कमेडी कार्यक्रममा हाँस्न पञ्च लाइन कुरेर बसेका थिए दर्शक तर, उनीहरूको अपेक्षा पूरा हुन नसकेको प्रतिक्रिया देख्न सकिन्छ।
युट्युबमा सार्वजनिक भएको २२ घण्टामा पनि ६ लाख मात्र भ्युज छ। ओएसआरको आधिकारिक युट्युब च्यानलमा अपलोड भएको भिडियोमा दर्शकहरूले ‘कहाँ हाँस्ने हो?’ भनेर प्रश्न सोधेका छन्।
शोलाई लिएर आएका प्रतिक्रियामा पनि दर्शकहरुले ‘मज्जा नआएको’ उल्लेख गरेका छन्। दर्शकहरुले यो शो हेरेर निन्द्रा लागेको भन्दै आलोचना पनि गरेका छन्।
प्रयोगकर्ता सुरेश लेख्छन्- सबै कलाकार उत्कृष्ट नै छन् तर सत्य भन्नू पर्दा, कसम हेर्दा हेर्दै निन्द्रा लाग्यो, जति सोचेको थिए त्यति मज्जा आएन।
त्यस्तै, अर्का प्रयोगकर्ता लोक चेम्चोङ्ग लेख्छन्- कमेडी दरबार हेरेपछी यो शो उति मजा आएन।
धेरैजसो प्रयोगकर्ताले भने शो को पहिलो एपिसोड भएकाले बधाई र शुभकामना दिएका छन्। त्यसमध्ये केहीले अर्को शो कमेडी दरबारसँग मिलेर जानुपर्ने सुझाव दिएका छन्।
प्रयोगकर्ता दिनेश राउत लेख्छन्- कमेडी दरबार र कमेडी च्याम्पियन एकअर्काको परिपुरक हुन सबै मिलेर हेर्नुपर्छ।
अध्यक्ष पदमा रहेकी दीपाश्री निरौलाको हाँसो पनि जबर्जस्तीको देखिएको छ। पहिलो शोमा दीपकराज गिरी र जितु नेपाल अतिथिको रुपमा पुगेका थिए।
हिमालय टीभीमा प्रशारण आरम्भ गरिएको यो शोलाई प्राइम टीभीबाट प्रशारण भइरहेको अर्को कमेडी रियालिटी शो ‘कमेडी दरबार’सँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
भरतमणी पौडेल, सुमन कार्की, सुमन कोइराला, साजन श्रेष्ठ, मेक्सम गौडेल, सन्तोष थापा, कैलाश कार्की लगायतका नाम चलेका कमेडीयनहरु यो शोमा छन्। तर, उनीहरुको प्रस्तुति फिक्का देखिएको छ।
अधिकांश कमेडीयनहरु दुई अर्थ दिने जोक्समा रमाउनुपर्छ भन्ने सोचबाट ग्रसित भएको देखिन्छ।
निर्देशक विशाल भण्डारी स्वयं होस्टका रूपमा देखिएका छन्। त्यस्तै, शोको निर्मातामा विशाल भण्डारीसहित हिरणकुमार बस्नेत र सगुन पाण्डे छन्। शो एक वर्षसम्म ५२ एपिसोड प्रसारणमा आउने जनाइएको छ।
यसअघि यो शोलाई दर्शकहरुले निकै मन पराएका थिए।