ओली र माधवबिच फेरि सहकार्यको चर्चा, सहकार्य कति सम्भव ?-Sutra News

ओली र माधवबिच फेरि सहकार्यको चर्चा, सहकार्य कति सम्भव ?

बुधबार, २० चैत्र २०८१

बुधबार, २० चैत्र २०८१

काठमाडौं । गएको सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र मातृभूमि राष्ट्रिय अभियान चलाइरहेका डा. भीम रावल एकै ठाउँ देखिए।



एकीकृत समाजवादीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा एकजना पुराना वामनेता तथा लेखक कमल कोइरालालाई श्रद्धाञ्जली दिने क्रममा यी तीन नेता एकैठाउँ देखिए।

त्यसक्रममा ओलीले गत शुक्रबार राजावादीका नाममा अराजक समूहले तोडफोड र आगजनीबाट भएको क्षतिको विवरण पनि माधवसँगै घुमेर जानकारी लिए। अनि क्षति पुगेको भवन बनाउन सहयोग गर्ने बताए।

‘क्षतिको विवरण टिपाउनुहोला, म भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीलाई भनेर मर्मत गर्ने व्यवस्था मिलाउँला’, क्षतिग्रस्त भवन अवलोकनपछि प्रधानमन्त्री ओलीले नेताहरूलाई आश्वासन दिँदै भने, ‘यस्तो अराजक गतिविधिलाई क्षमा दिन सकिँदैन।’

श्रद्धाञ्जली समारोहपछि ओली नेपाल र डा. रावल लहरै बसे। उनीहरूको ठीक सामुन्ने सम्मानित नेता झलनाथ खनाल बसेका थिए। ओली र नेपाल बसेको लहरको पल्लो छेउमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ थिए।

जब त्यो तस्बिर सार्वजिक भयो अनि यसले निकै चर्चा पायो। ओली, नेपाल, खनाल र रावलसहितको फोटो राखेर नेकपा एसका उपाध्यक्ष तथा प्रवक्ता प्रकाश ज्वालाले फेसबुकमा लेखे, ‘आइस ब्रेक !’

एमाले विभाजनपछि ओली र माधवबिच बोलचाल नै बन्द हुने अवस्था छ। यी दुई नेता ‘पानी बाराबार’को अवस्थामा रहँदै आएका छन्। त्यसैले पनि अलि बढी नै चर्चा भएको हो।

एमालेबाट फुटेर एकीकृत समाजवादी बनाएपछि माधवसँग रिसाएका ओलीले एक पटक एक सार्वजनिक कार्यक्रममा भनेका थिए- ‘यस्ताको के कुरा गर्नु ? नाम लिँदा पनि मुख कुल्ला गर्न मन लाग्छ !’

माधवले पनि ओलीको खरो आलोचना गर्दथे। यद्यपि उनले आलोचनाका क्रममा तल्लोस्तरका शब्द प्रायः प्रयोग गर्दैनथे। ओलीप्रति टिप्पणी गर्दा माधव नेपालले प्रायः ‘झुट र बेइमान’को संज्ञा दिने गरेका थिए।

‘राजनीतिमा स्थायी शत्रु र मित्र’ हुँदैन भनेझैँ केही दिन यताका घटनाक्रम र गतिविधि हेर्दा यी दुई नेता एक अर्काप्रति नजिकिने प्रयासमा रहेको सहजै बुझ्न सकिन्छ। राजावादी आन्दोलनले यी नेताहरू बीच यत्तिको सामिप्यता बढाएको हो। पछिल्ला समय राजावादीहरूले मुलुकमा राजा र राजसंस्था फर्काउने आन्दोलन चलाइरहेका छन् भने त्यसको काउन्टरमा गणतन्त्र पक्षधर दलहरूले पनि विभिन्न कार्यक्रम गरिरहेका छन्।

नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा प्रचार विभाग उपप्रमुख दामोदर अर्याल एमाले र एकीकृत समाजवादीका नेताहरूबिचको दुरी घटिरहेको दाबी गर्छन्।

‘जति राजावादीको गतिविधि तीव्र हुन्छ। त्यति वामपन्थीबिच ध्रुवीकरण बढ्दै जान्छ’, अर्यालले रातोपाटीसँग भने, ‘दुई पार्टीका नेताहरूबिचको दुरी घटिरहेको छ। उदाहरणका रूपमा नेताहरूको पार्टी कार्यालयमा आवतजावत र भर्खरै सकिएको स्ववियु निर्वाचनको सहकार्यलाई लिन सकिन्छ।’

हुन पनि ओलीसँग भेट भएको भोलिपल्ट विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा यसअघि ओलीप्रति चर्को आक्रोश व्यक्त गर्ने नेपाल त्यो दिन भने नरम ढंगले प्रस्तुत भए।

श्रद्धाञ्जली कार्यक्रममा आएको बेला प्रधानमन्त्रीले समाजवादीको पार्टी कार्यालयसमेत अनुगमन गरेको जानकारी उनले दिए। तर, फेरि मिलेर अघि बढ्न वा पार्टी एकीकरण गर्न भने नसकिने उनले बताए।

‘प्रधानमन्त्री ज्यूले कमल कोइरालाको श्रद्धाञ्जलीसँगै राजावादीहरूले पार्टी कार्यालयमा गरेको आगजनीको निरीक्षण गर्नु भएको हो’, माधवले भनेका थिए, ‘कार्यालयको निरीक्षणसँगै राजावादीहरुबाट हाम्रो कार्यालयमा भएको क्षतिको अवस्था लगायतको विषयमा उहाँसँग छलफल भयो। तर, पार्टी कार्यालयमा आउने बित्तिकै पार्टी एकीकरण हुन्छ भन्ने हुँदैन।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार