

क्यालिफोर्निया । इजरायलले गाजा पट्टीमा आफ्नो सैन्य कारबाहीलाई अझ व्यापक बनाउने घोषणा गरेपछि क्षेत्रीय अस्थिरता गहिरिँदै गएको छ। रक्षा मन्त्री इस्राएल काट्जले ‘विस्तृत भूभाग नियन्त्रण’ गर्ने योजना सार्वजनिक गर्दै हमासविरुद्धको सैन्य अभियानलाई तीव्र पार्ने सङ्केत दिएका छन्। उनले भने,”इजरायली सेनाले आतङ्ककारीहरू र तिनका पूर्वाधारहरूलाई ध्वस्त पार्नेछ, जसले हाम्रो सुरक्षा क्षेत्रहरूलाई मजबुत बनाउनेछ।” तर, यो अभियानको प्रत्यक्ष असर गाजाका लाखौँ निर्दोष नागरिकहरूमा परिरहेको छ।
मार्च १८, २०२५ यता लगातार भइरहेको हवाई आक्रमण र भौतिक कारबाहीका कारण हजारौँ सर्वसाधारण मारिएका छन्, जसमा धेरैजसो महिला र बालबालिका छन्। संयुक्त राष्ट्रसङ्घ (युएन ) का अनुसार, गाजाको जनसङ्ख्या चरम खाद्य सङ्कटको चपेटामा छ, र अस्पतालहरूमा औषधि, बिजुली, र पानीको चरम अभाव छ।
गाजाका अस्पतालहरूमा घाइतेहरूको अत्यधिक चाप रहेको छ, तर स्वास्थ्य सेवा प्रणाली पूर्ण रूपमा ध्वस्त भइसकेको छ। इजरायली घेराबन्दीका कारण औषधि, चिकित्सा उपकरण, र आपतकालीन सेवा उपलब्ध हुन सकेका छैनन्। संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले भने, “गाजामा स्थिति यस स्तरसम्म पुग्न सक्छ भन्ने कल्पना पनि गरिएन। यहाँका नागरिकहरू भोक, प्यास, र निरन्तर बमवारिको त्राससँग जुधिरहेका छन्।”
खाद्य सङ्कट दिनप्रतिदिन भयावह बन्दै गएको छ। इजरायली अधिकारीहरूले गाजामा पर्याप्त खाद्य आपूर्ति भइरहेको दाबी गरे पनि, संयुक्त राष्ट्रसंघले इजरायली दाबीलाई ‘उपहासपूर्ण’ भनेको छ। हजारौँ परिवारहरू विस्थापित भइसकेका छन्। विस्थापित भएका नागरिकहरूलाई सुरक्षित स्थानमा जानसमेत कुनै सुविधा उपलब्ध छैन, किनकि सीमा क्षेत्रमा पनि इजरायली सेनाले कडा निगरानी राखिरहेको छ। इजरायली सेनाले यो कारबाहीलाई आतंकवादविरुद्धको लडाइँ भन्दै आएको छ। तर, गाजामा दीर्घकालीन सैन्य नियन्त्रण स्थापित गर्ने योजना रहेको सङ्केत इजरायली नेतृत्वले स्पष्ट रूपमा दिएको छ।
इजरायलले गाजाका विभिन्न क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिने उद्देश्य राखेको छ, जसले भविष्यमा द्वन्द्वलाई अझ चर्काउन सक्ने सम्भावना बढाएको छ। इजरायली मन्त्री इस्राएल काट्जका अनुसार, “हाम्रो कारबाही तबसम्म रोकिने छैन, जबसम्म जागालाई आतंकवादको केन्द्र बन्ने बाटोबाट हटाइँदैन।” तर, विश्लेषकहरू भन्छन् कि इजरायली सेनाको निरन्तर आक्रमणले हमासलाई पूरै समाप्त गर्न सम्भव छैन, बरु यो हिंसालाई अझ उग्र बनाउन सक्ने सम्भावना छ।
यसबाहेक, हमासले इजरायली कारबाहीलाई ‘खतरनाक अतिक्रमण’ भन्दै थप प्रतिरोध गर्ने चेतावनी दिएको छ। हमासका एक अधिकारीले भने, “इजरायलसँग कुनै पनि युद्ध विराम सम्झौता हुन सक्दैन, जबसम्म गाजा सुरक्षित हुँदैन।”
मध्यपूर्वका देशहरू, विशेष गरी जोर्डन, टर्की, र इजिप्टले इजरायली सैन्य कारबाहीको कडा आलोचना गरेका छन्। इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीले भने, “इजरायलको कारबाहीले सम्पूर्ण अरब विश्वलाई अस्थिर बनाउनेछ।”
संयुक्त राष्ट्रसङ्घका महासचिवले गाजाको स्थिति अत्यन्त चिन्ताजनक रहेको बताउँदै युद्ध विरामका लागि आह्वान गरेका छन्। युरोपेली संघ, इस्लामिक सहयोग सङ्गठन (ओ आ सी ), र अन्य मानवअधिकार समूहहरूले पनि गाजाको स्थिति गम्भीर रहेको र इजरायलले आफ्नो कारबाही रोक्नुपर्ने माग गरेका छन्।
अमेरिकाले भने इजरायललाई आफ्नो समर्थन जारी राख्दै आएको छ। ह्वाइट हाउसका प्रवक्ताले भने, “इजरायललाई आफ्नो सुरक्षाका लागि कदम चाल्ने अधिकार छ, तर नागरिकहरूको सुरक्षा पनि प्राथमिकता हुनुपर्छ।”
गाजामा भइरहेको सैन्य कारबाहीले केवल हमासविरुद्धको लडाइँलाई मात्र होइन, सम्पूर्ण क्षेत्रलाई द्वन्द्वमा धकेल्न सक्छ। यदि इजरायलले आफ्नो सैन्य नियन्त्रणलाई विस्तार गर्ने योजनालाई अघि बढायो भने, मध्यपूर्वमा शान्ति प्रक्रिया थप जटिल बन्नेछ।
यस युद्धलाई रोक्नका लागि अन्तर्राष्ट्रिय कूटनीति कति प्रभावकारी हुन्छ भन्ने अहिल्यै अनुमान गर्न कठिन छ। यदि तत्काल युद्ध विराम स्थापना गर्न नसकिने हो भने, हजारौँ निर्दोष नागरिकहरूको ज्यान जाने जोखिम अझै रहन्छ।
गाजामा हिंसा रोक्न तत्काल कूटनीतिक हस्तक्षेप आवश्यक देखिन्छ। यदि इजरायल र हमासबीच कुनै सम्झौता हुन सकेन भने, यो संघर्ष वर्षौँसम्म लम्बिन सक्छ, जसले केवल मध्यपूर्व मात्र होइन, सम्पूर्ण विश्वको शान्ति र स्थायित्वलाई चुनौती दिनेछ।