

काठमाडौं । काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थ बनेको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौंसहित प्रमुख सहरको वायु प्रदूषण गुणस्तर खतरनाक भएको भन्दै बच्ने उपायहरू अवलम्बन गर्न आग्रह गरेको छ।
बिहीबार काठमाडौंको वायु प्रदूषण सूचकाङ्क ३०८ पुगेको छ। जबकी ५० भन्दा माथिलाई राम्रो मानिँदैन।
प्राधिकरणले वायु प्रदूषणका कारण मानिसहरूमा श्वासप्रश्वासमा समस्या, दम र फोक्सोको सङ्क्रमणको जोखिम, सुख्खा खोकी लाग्ने, घाँटी चिलाउने, आँखा पोल्ने, छाला सुख्खा हुने, एलर्जी र जलन हुने, टाउको दुख्ने, थकान महसुस हुने लगायतका स्वास्थ्य सम्बन्धी शारीरिक र मानसिक समस्या बढ्दै गएको जनाएको छ।
गर्मी मौसम बढेसँगै बढ्दो वन डढेलो र आगलागी, सडक निर्माण लगायतका निर्माण कार्यसँगै निस्केका धुलाका कण, सवारी प्रदूषण, फोहर मैला जलाउने, काठमाडौं उपत्यकाको भौगोलिक अवस्थिति, हिउँदे वर्षा कम हुनु र मनसुन सुरुवात भइसकेको छैन। यस्तो अवस्थामा केही दिनयता काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरको वायु प्रदूषण खतराको अवस्थामा पुगेको प्राधिकरणले जनाएको छ।
वायु प्रदूषणको गाम्भिर्यतालाई ध्यानमा राखी सम्भव भएसम्म घरमै बस्न, कार्यालयका कामहरू घरबाटै व्यवस्थापन गर्न सकिने अवस्था भए घरबाटै गर्न प्रोत्साहन गर्न, सवारी साधनको प्रयोग कम गर्न, घर, सडक तथा सार्वजनिक स्थानको सरसफाइमा ध्यान दिन, अत्यधिक धुलो र धुवाँ उत्सर्जन गर्ने निर्माण कार्य केही समयलाई स्थगन गरी वातावरणमैत्री हुने गरी नियमन गर्न पनि सरकारले आग्रह गरेको छ।