काठमाडौंको आकाशबाट बादल फाट्न कति दिन लाग्छ ?-Sutra News

काठमाडौंको आकाशबाट बादल फाट्न कति दिन लाग्छ ?

बिहिबार, २१ चैत्र २०८१

बिहिबार, २१ चैत्र २०८१

काठमाडौं । विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौं उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने भएको छ।



भोलि शुक्रबारदेखि वायुको वेग आजको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्ने मौसमविद् बिनु महर्जनले बताए। हाल राजधानी उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको छ।

बुधबारको तुलनामा आज तापक्रम पनि केही घटेको जानकारी दिँदै उनले भोलिदेखि क्रमशः तापक्रम पनि बढ्ने जानकारी दिए।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भएको छ।

एक्यूआई मापनअनुसार शून्यदेखि ५० सम्म ‘स्वच्छ’, ५१ देखि एक सयसम्म ‘सामान्य’, एक सय एक देखि एक सय ५० सम्म ‘सम्भावित जोखिम’, एक सय ५१ देखि दुई सयसम्म ‘अस्वस्थकर’, दुई सय एकदेखि तीन सयसम्म ‘अत्यधिक अस्वस्थकर’ र तीन सय एकभन्दा माथि ‘खतरनाक’ मानिन्छ। हाल काठमाडौँमा वायु प्रदूषणकोस्तर तीन सय ४८ एक्यूआई पुगी ‘खतरनाक’ श्रेणीमा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले हालको वायु प्रदूषणका कारण दम, फोक्सोसम्बन्धी रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदय रोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिनसक्ने भएकाले संवेदनशील समूहमा पर्ने बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीलाई विशेष सतर्कता अपनाउन सुझाव दिए।

स्वास्थ्य मन्त्रालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, यात्रा गर्दा अनिवार्य रूपमा मास्क लगाउन र अत्यधिक प्रदूषण भएका क्षेत्रमा नजान सर्वसाधारणमा अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार