महानगरमा कर्मचारी र नगर प्रहरीबीच तनाव हुँदा पाँचखालमा लस्सी पिउँदै थिए बालेन-Sutra News

महानगरमा कर्मचारी र नगर प्रहरीबीच तनाव हुँदा पाँचखालमा लस्सी पिउँदै थिए बालेन

बिहिबार, २१ चैत्र २०८१

बिहिबार, २१ चैत्र २०८१

काठमाडौं । तीन महिनापछि आज कार्यालय पुगेका काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कर्मचारीहरूले उनको कार्यकक्षको ताला फोडेर प्रवेश गराए। उपमेयर र केही वडाअधक्ष्यसहितको नगरप्रहरीसँग घम्साघम्सी नै पर्यो।



गुरागाईं कार्यालय पुग्दा उपमेयर सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरू र कर्मचारीले स्वागत गरेका थिए। गुरागाईंलाई अवरोध गर्न बालेनले नगर प्रहरी परिचालन गरे पनि अवरोध छिचोल्दै गुरागाईं कार्यालय प्रवेश गरे।

नगर प्रहरीले रोक्न खोजेपछि कर्मचारीले गुरागाईंको कार्यकक्ष प्रवेशद्वारमा तोडफोड पनि गरेका थिए। लगत्तै बसेको बैठकमा उपप्रमुख डंगोलले बालेनको चर्को आलोचना गरिन्। उनले हरेक घटनाक्रमबारे आफूहरू जानकार रहेको भन्दै बालेनलाई कोठामा बसेर निर्देशन नदिन चेतावनी दिएकी हुन्।

‘यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ। होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन। पहिला आजको विषय समाधान गर्छौ। त्यसपछि बोर्ड बैठक बस्छौँ। आजका लागि यो समस्या समाधान गर्नुपर्छ’, डंगोलले भनिन्।

कार्यालय प्रवेशपछि गुरागाईं कार्यकक्षमा प्रवेश गर्न खोज्दा बालेन भने कार्यकक्षमा चाबी लगाएर बेपत्ता भएका थिए।

मेयर बालेनले लामो समयदेखि व्यक्तिगत ‘इगो’का कारण प्रमुख प्रशासकीय अघिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएर कर्मचारीहरूको नियमित तलब समेत रोक्का गरिदिएको भन्दै कर्मचारीहरू पनि असन्तुष्ट बनेका थिए।

गुरागाईं कार्यालय पुग्दा सबैले मेयरका विरूद्ध नाराबाजी गर्दै अघि बढाएका थिए। तर महानगरमा यति सबै हुँदै गर्दा पनि बालेन भने त्यहाँ उपस्थित भएनन्।

त्यसबेला बालेन काभ्रेको पाँचखाल पुगेको खुलेको छ। उनी पाँचखाल केराघारी ३७ किलोको एसएल अर्गानिक कफी एन्ड लस्सी सेन्टर पुगेर लस्सी पिउँदै थिए।

कफी एन्ड लस्सी सेन्टरका सञ्चालक कविन्द्र तिमिल्सिनाका अनुसार बालेन आफ्ना केही सहयोगीहरूका साथ बिहान त्यहाँ पुगेका थिए। उनले त्यहाँ लस्सी पिएर बाहिरिए।

‘ठ्याक्कै घडी त हेरिएन तर, उहाँ बिहान १०-११ बजेतिर होला आउनुभएको थियो होला। लस्सी लिएर उहाँहरू जानुभयो,’ सञ्चालक तिमिल्सिनाले भने।

ठीक त्यही बेला यता महानगर परिसरमा भने जनप्रतिनिधि र कर्मचारी र महानगर प्रहरीबीच ठेलमठेल चल्दै थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार