

काठमाडौं । गएको १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी आन्दोलनको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का नेता पनि पक्राउ परेका छन्।
राजावादीहरुले गरेको प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राजकुमार राई पक्राउ परेका हुन्।
रास्वपाको निर्वाचन क्षेत्र समिति खोटाङका संयोजक समेत रहेका डाक्टर राई राप्रपाका नेताहरुसँग पक्राउ परेका हुन्। प्रहरीले उनको गतिविधिलाई सिसी टिभीमा हेरेर पक्राउ गरेको हो।
सामाजिक सञ्चालमा सार्वजनिक भएका भिडियोमा राई घटनाका भएको दिन बिहानैबाट तीनकुने परिसरमा देखिएका छन्। उनले हातमा नेपालको झण्डा बोकेर राजसंस्थाको पक्षमा नारा पनि लगाएका थिए।
उनीमाथि भाटभटेनीमा भएको लुटपाटमा रक्सी चोरेकोसमेत अभियोग लगाइएको छ। उनी यसअघि खोटाङमा नेपाली कांग्रेसका नेता थिए। पछि उनी रास्वपाको सक्रिय राजनीतिमा फर्किएका थिए।
अमेरिकाबाट पिएचडी गरेका राई वि.सं. २०७१ सालअघि सिसिआरसी कलेजका कार्यक्रम संयोजकसमेत रहेका थिए। त्यहाँ दुई वर्ष काम गरेपछि उनले अहिले कलेज छाडिसकेका छन्।
दुई जनाको ज्यान गएको प्रदर्शनमा प्रहरीले पक्राउ गरेका मध्ये ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अगाडि बढाएपछि उनी पक्राउ परेको पत्ता लागेको थियो। खोटाङ रावाबेसी गाउँपालिका–१ घर भएका राईलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिइसकेको छ।