

काठमाडौं । अभिनेता विपिन कार्कीलाई पहिलो पटक एक्सन अवतारमा उतारिएको फिल्म ‘कर्मा’को ट्रेलर सार्वजनिक भएको छ। ३ मिनेट लामो ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पार्छ ।
अभिनेता कार्कीलाई यस एक्सन फिल्ममा एन्टीहिरो रुपमा प्रस्तुत गरिएको छ। आफूलाई व्यवस्थाले अपराधी बनाएको भन्दै विपिनको पात्र प्रणालीविरुद्ध आक्रोशित देखिन्छ।
३ मिनेट लामो ट्रेलरमा शीर्ष कलाकार विपिनसहित उपासनासिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेव पन्त लगायतलाई देखाइएको छ। एक्सन कोरियोग्राफी, द्रुत सम्पादन र छायांकन स्टाइलले ट्रेलर उत्कृस्ट देखिएको छ।
ट्रेलर हेर्दा, अपराध, तस्करी, प्रहरी र बदलाको नेक्सस वरपर कथा घुमेको जस्तो देखिन्छ।
मुकुन लिड एन्टागोनिस्ट चरित्रमा छन्। उपासनालाई विपिनकी ‘लभ इन्ट्रेस्ट’को रुपमा देखाइएको छ। दिब्यदेव प्रहरी अफिसको चरित्रमा छन्। सरिता गिरी विपिनकी आमाको भूमिकामा छिन्।
वसन्त लम्सालको लगानी रहेको फिल्मलाई आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो। ‘कर्मा’ २९ चैतमा प्रदर्शन हुँदैछ।
निर्देशक सौरभ चौधरीको अघिल्लो पुलिस ड्रामा ‘अगस्त्य’ले मानव बेचबिखनलाई रोक्न प्रहरीले चालेको अप्रेसनको कथा भनेको थियो, जुन धेरैले रुचाएका पनि थिए। उनले ‘लभ डायरिज’बाट निर्देशनमा डेब्यु गरेका थिए।