

काठमाडौं । ३४२ अर्ब डलरसहित संसारकै धनी व्यत्तिको एक नम्बरको सुचीमा विद्युतीय कार निर्माता टेस्लासहित सात कम्पनीका संस्थापक इलन मस्क परेका छन्।
विश्वभरिका अर्बपतिहरू सूची प्रकाशन गर्ने फोर्ब्सले यो वर्ष २०२५ का लागि तयार पारेको सूचीमा मस्क पहिलो स्थानमा परेका हुन्। टेस्ला, रकेट निर्माता कम्पनी स्पेस एक्स, सामाजिक सञ्जाल एक्स, आर्टिफिसियल इन्टिलिजेन्स स्टार्टअप एक्सएआई लगायत सात कम्पनीका मालीक हुन् अमेरिकाका ५३ वर्षीय मस्क।
फोर्ब्स सूचीको दोस्रो नम्बरमा २ खर्ब १६ अर्ब डलर सम्पत्ति सहित सामाजिक सञ्जाल फेसबुकका सञ्चालक अमेरिककाकै ४० वर्षीय मार्क जुकरबर्ग परेका छन्।
तेस्रो स्थानमा अमेरिकाका जेफ बेजोस छन्। प्रविधि कम्पनी अमेजनका सञ्चालक ६१ वर्षीय बेजोसको सम्पत्ति २ खर्ब १५ अर्ब डलर बराबर छ।
त्यसैगरी चौथो स्थानमा प्रविधि कम्पनी ओराकलका सञ्चालक अमेरिकाकै ८० वर्षीय ल्यारी इलिसन परेका छन्। उनको सम्पत्ति १ खर्ब ९२ अर्ब डलर बराबर छ।
१ खर्ब ७८ अर्ब डलर कुल सम्पत्तिसहित पाँचौं स्थानमा फ्रान्सको बर्नार्ड आर्नो एन्ड फेमिली, छैटौं स्थानमा १ खर्ब ५४ अर्ब डलर कुल सम्पत्तिसहित अमेरिकाका वारेन बफेट, १ खर्ब ४४ अर्ब डलर सहित गुगलका मालिक अमेरिकाका ल्यारी पेज सातौंमा, गुगलकै अर्का मालिक अमेरिकाकै सर्गे ब्रिन १ खर्ब ३८ अर्ब डलर सहित आठौंमा, १ खर्ब २४ अर्ब डलर सहित स्पेनको जारा कम्पनीका मालिक अमान्सियो ओर्टेगा नवौं र माइक्रोसफ्टका मालिक अमेरिकाका स्टिभ बाल्मर १ खर्ब १८ अर्ब डलर कुल सम्पत्तिसहित दसौं स्थानमा परेका छन्।
फोब्र्स सूचीमा सबैभन्दा धनी १० मध्ये ८ जना अमेरिकाका छन्। भारतका सबैभन्दा धनी मुकेश अम्बानी फोर्ब्स सूचीको १८ नम्बरमा परेका छन्। उनको सम्पत्ति ९२ अर्ब ५० करोड डलर बराबर छ। त्यसैगरी नेपालका धनाढ्य विनोद चौधरीको सम्पत्ति २ अर्ब डलर पुगेको छ।