राजावादीले ध्वंश बनाएको जडिबुटी केन्द्र छिटो सञ्चालन गर्न गृहकार्य गर्दैछ सरकार-Sutra News

राजावादीले ध्वंश बनाएको जडिबुटी केन्द्र छिटो सञ्चालन गर्न गृहकार्य गर्दैछ सरकार

बिहिबार, २१ चैत्र २०८१

बिहिबार, २१ चैत्र २०८१

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले यही चैत १५ गते आन्दोलनका क्रममा जलाइएको जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको निरीक्षण गरेका छन्। उनका साथमा काठमाडौं क्षेत्र न २ का प्रतिनिधिसभा सदस्य सोविता गौतम समेत रहेकी थिइन्।



मन्त्री ठकुरी र सांसद गौतमले जडिबुटीस्थित प्रशोधन केन्द्र पुगेर जलेर भग्नावशेष भएका भौतिक संरचनाको अवलोकन गरेका हुन्। यही चैत १५ गते पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुको आन्दोलनका क्रममा प्रदर्शनकारीले आगो लगाउँदा प्रशोधन केन्द्र भग्नावशेष बनेको हो। त्यहाँ रहेका सवारीसाधन जलाइएको थियो भने करोडौँको रुपैयाँ बराबरको क्षति भएको छ।

सो अवसरमा प्रशोधन केन्द्रका महाप्रबन्धक सङ्गीता यादवलगायत पदाधिकारीले आगलागीबाट क्षति भएको भग्नावशेषको अवलोकन गराउँदै क्षतिबारे उनीहरुलाई जानकारी गराएकी थिइन्। निरीक्षणपछि मन्त्री शाहीले छिटोभन्दा छिटो सञ्चालन गर्न गृहकार्य भइरहेको बताए।

‘प्राविधिक र विज्ञ राखेर छलफल गरिरहेका छौँ। रु १० करोड बजेट भए अस्थायी रुपमा सञ्चालन गर्न सकिन्छ। यसबारे मन्त्रिपरिषद्मा छलफल भएको छ। चाँडै रकम उपलब्ध हुन्छ’, उनले भने।

क्षतिबारे सहरी विभागले मूल्याङ्कन गरिरहेको र चाँडै पुनर्निर्माण प्रक्रिया अगाडि बढ्ने मन्त्री शाहीको भनाइ थियो। ‘उत्पादन बढाउने र रोजगारलाई सुनिश्चित गर्ने सवालमा हामी सबै प्रक्रिया पूरा गरेर पुनःसुरु गर्छौ’, उनले भने।

सांसद गौतमले आगो लगाउनेलाई सरकारले कानुनी दायरामा ल्याउनुपर्ने बताइन्। प्रशोधन केन्द्रलाई घना बस्तीबाट अन्यत्र सार्नुपर्ने उनको सुझाव थियो।

प्रशोधन केन्द्रका महाप्रबन्धक यादवले नयाँ उत्पादनको तयारी गरिरहेका बेला आगो लाग्दा ठूलो क्षति भएको बताइन्। उनकाअनुसार उद्योगको दुई भवन र १३ गाडी जलेर क्षति भएको छ। रु २८ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको महाप्रबन्धक यादवले बताइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार