

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यतिबेला ट्रोलको शिकार बनिरहेका छन्। सांसद भएर पनि संविधान नजानेको अनि बढी जान्ने भएर पत्रकारलाई पढाउन खोजेपछि उनी ट्रोलको शिकार बनेका हुन्।
केही दिनअघि शाहीले संविधानको धारा २७४ मा रहेको व्यवस्था भन्दै पत्रकारका अगाडी उट्पट्याङ्ग बोले। राजावादी आन्दोलनको रापताप चलिरहेको बेला त्यही विषयमा संसद भवनअघि पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले आफ्नो अल्पज्ञान प्रदर्शन गरेका हुन्।
राजतन्त्र पुनर्स्थापना अभियानमा लागेका उनले संविधानको धारा २७४ मा वर्तमान संविधान मान्दिनँ भन्ने नागरिक पनि नेपालमा सांसद हुनसक्छ भनेर उल्लेख गरिएको बताए। उनले त्यस्तो दाबी गर्दै उक्त धारा अध्ययनका लागि पत्रकारलाई अर्ति उपदेश दिएको एक भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ।
तर, संविधानको भाग ३१, धारा २७४ मा संविधान संशोधनको विषय उल्लेख छ। पहिलो उपधारामा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी संविधान संशोधन गर्न नसकिने स्पष्ट छ।
सोही धाराको उपधारा २ मा अन्य धाराको अधीनमा रही यस संविधानको कुनै धारालाई संशोधन वा खारेज गर्ने विधेयक संघीय संसदको कुनै पनि सदनमा पेश गर्न सकिनेछ भनेर लेखिएको छ।
तर, सांसद शाहीले भनेका छन्, ‘२७४ ले के भन्छ, सुन्नुस्। यो संविधान मान्दिनँ भन्ने मान्छे पनि यो देशमा सांसद हुनसक्छ भनेर उल्लेख गरिएको छ। संविधानको धारा २७४ ले के भन्छ पढेर सुनाउनुस् न। तपाईं संविधान आफू नपढ्ने,अनि अर्काले यो गरिदिएन भनेर भ्युज कति आउँछ भनी काम गर्ने ? संविधान २७४ तपाईंले पनि पढेर आउने। नपढेर फ्याट्ट भन्ने होइन।’