

काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अवैध भनेर वैध आप्रवासीलाई डिपोर्ट गरेको पाइएको छ।
गत मार्चमा भेनेजुयलाको आपराधिक समूह ‘ट्रेन दि अरागुआ’मा संलग्न रहेको भनेर झन्डै साढे दुई सय जनालाई बढीलाई डिपोर्ट गरी एल साल्भाडोरको जेल पठाएको मध्ये किल्मार अब्रेगो गार्सिया भने वैध ढंगले नै अमेरिकाको मेरिल्याण्ड बस्दै आएको खुलेको छ।
वर्क परमिट लगायतका कागजातसहित उनी वैध ढंगले काम गरिरहेको भए पनि उनलाई ट्रम्प प्रशासनले डिपोर्ट गरेपछि अदालतमा मुद्दा परेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी सरकारले यसअघि नै उनलाई भूलवश डिपोर्ट गरिएको स्वीकार गरिसकेको छ।
भूलवश डिपोर्ट गरिएको भए उनलाई तत्काल फिर्ता ल्याउन मेरिल्याण्डको ग्रीनबेल्ट अदालतमा मुद्दा दर्ता भएको थियो।
शुक्रबार मुद्दाको सुनवाइ गर्दै अदालतले भूलवश डिपोर्ट गरिएको भनिएका ती पुरूषलाई तीन दिनभित्र अमेरिका फिर्ता ल्याउन आदेश दिएको छ।
न्यायाधीश पाउला जिनिसले ती व्यक्तिलाई अमेरिका नै फिर्ता ल्याउन अप्रिल ७ सम्मको समय दिएको रोयटर्सले जनाएको छ।
सुनुवाइको क्रममा किल्मारका वकिलले भूलवश पठाउन सक्ने सरकारले फिर्ता गर्न पनि सक्नुपर्ने बताएका थिए। सरकारी वकिलले भने फिर्ता गर्न सकिने अवस्था नरहेको बताएका छन्।
किल्मारकी श्रीमती र ५ वर्षीय छोरा अमेरिकी नागरिक रहेको पनि रोयटर्सले लेखेको छ। उनीहरूले सरकार आफ्नो गल्ती सुधार गर्न तयार नदेखिएको गुनासो गरेका छन्।