वैशाख पहिलाे साता कर्णाली एजुकेशन एक्स्पो हुने-Sutra News

वैशाख पहिलाे साता कर्णाली एजुकेशन एक्स्पो हुने

आइतबार, २४ चैत्र २०८१

आइतबार, २४ चैत्र २०८१

काठमाडौं । नयाँ वर्षको शुभारम्भसँगै सुर्खेतको बिरेन्द्रनगरमा शिक्षा सम्बन्धी विशेष प्रदर्शनी हुने भएको छ । सो अवसरमा शिक्षाविज्ञ, जनप्रतिनिधि, अभिभावक र विद्यार्थीहरुबीच शिक्षाको नीतिगत व्यवस्था, कर्णालीको शैक्षिक अवस्था र समाधानका विकल्पका बारेमा कार्यशाला समेत सन्चालन गरिने भएको हो ।



कर्णाली विकास केन्द्रको पहलमा बिरेन्द्रनगर नगरपालिका र कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा तीन दिने प्रदर्शन हुने केन्द्रका अध्यक्ष नविन जैसीले जानकारी दिएका छन् । अन्य विभिन्न क्षेत्रजस्तै शिक्षाका विभिन्न सूचकमा कर्णालीको अवस्था निकै जटिल रहेको भन्दै यसका बारेमा बृहत अन्तरक्रिया तथा विचार मन्थन गर्न यो कार्यक्रम गर्न लागिएको उनले जानकारी दिए ।

वैशाख ३, ४ र ५ गते हुने यो प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री, पूर्वमुख्यमन्त्री, मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकूलपतिको विशेष बहस हुने केन्द्रले जानकारी दिएको छ । सो क्रममा बिभिन्न पक्षबाट कर्णालीको शैक्षिक अवस्थाको विश्लेषण गरिने, शैक्षिक सूचकहरु प्रस्तुत गर्ने, कर्णालीबाट उच्च शिक्षा हासिल गर्न बाहिर जानेहरुको अवस्था, कर्णालीमा सीमान्तकृत समुदाय र शारीरिक अपाङ्गता भएका बालबालिकाहरुको अवस्था र उनीहरुको शिक्षाको अवस्था र त्यसको विकल्पका बारेमा बृहत छलफल गरिने बताइएको छ ।

त्यसैगरी विभिन्न शिक्षाविदहरुले पछिल्लो शैक्षिक प्रविधि, प्रविधिले सिर्जना गरेका नयाँ अवसर तथा चुनौतीहरुका सम्बन्धमा पनि प्रस्तुति तथा छलफल हुने पनि केन्द्रले जनाएको छ ।

कार्यक्रममा कर्णाली र राजधानीमा उच्च शिक्षा अध्यापन गराइरहेका कलेजका प्रतिनिधिहरु, कर्णालीका १० वटै जिल्लाका स्थानीय सरकारका प्रतिनिधिहरु, कर्णालीका ७९ वटै स्थानीय तहका विद्यालयबाट विद्यार्थी तथा अभिभावकहरुलाई निम्ता गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अध्यक्ष जैसीले शिक्षाका समग्र सूचकांकहरुलाई विश्लेषण गरी प्रथमतः कर्णालीको शैक्षिक अवस्थालाई उजागर गर्ने, त्यसलाई सुधार गर्न नीतिगत र अन्य विकल्पका बारेमा छलफल हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार