

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानको बहुप्रतीक्षित फिल्म ‘सिकन्दर’ बक्स अफिसमा निकै कमजोर देखिएको छ। सलमानको ब्लकबष्टर पुनरागमन हुने ठानिएको फिल्मले भारतीय बक्स अफिसमा एक हप्तामा पनि सय करोड भारु कमाउन सकेन।
फिल्मलाई दर्शकहरूले मन पराइरहेका छैनन्। फिल्म ‘सिकन्दर’ बाट सलमानका फ्यानलाई निकै आश थियो।
रिलिज भएपछि फिल्मले उक्त आशालाई पुरा गर्न सकेको छैन। फिल्मको एक साताको कलेक्सन हेर्दा लगानी उठाउनै मुस्किल देखिएको छ।
कयौँ सिनेमा हलले सिकन्दरको शो अरू फिल्मलाई दिइरहेका छन्।
इदको अघिल्लो दिन रिलिज भएको फिल्मको इदपछि नै बक्स अफिस कलेक्सन ओरालो लागेको थियो। शुक्रबार अप्रिल ४ मा फिल्मको कलेक्सन ४१ दशमलव ६७ प्रतिशतले घटेको थियो।
सातौँ दिनमा फिल्मले जम्मा २ करोड ५२ लाख भारु मात्रै कमाएको छ। योसँगै सात दिनमा फिल्मको कूल कमाई बल्ल तल्ल ९६ करोड २७ लाख भारुमा पुगेको छ।
२०० करोड भारुमा बनेको फिल्मको ६ दिनमा विश्वभर कमाई १५३ करोड ३५ लाख रहेको स्याकनिल्कको तथ्यांकले देखाएको छ।
एआर मुरुगादास निर्देशित फिल्ममा सलमान खान र रश्मिका मन्दनाको मुख्य भूमिका छ। फिल्ममा सलमान र रश्मिकासँगै काजल अग्रवाल, शरमन जोशी, प्रतिक बब्बर, किशोर, जतिन सरना, सञ्जय कपूरलगायत कलाकारको अभिनय छ।