रविले लत्याएको प्रधानमन्त्री बन्ने अफर !-Sutra News

रविले लत्याएको प्रधानमन्त्री बन्ने अफर !

आइतबार, २४ चैत्र २०८१

आइतबार, २४ चैत्र २०८१

काठमाडौं । यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । जहाँ उनले ‘म प्रधानमन्त्री हुन छाडेर आएको मान्छे हुँ, फुलीको चिन्ता नगर्नुस्, देशको चिन्ता गर्नुस्’ भन्दै प्रहरी अधिकारीलाई हकारेका छन् ।



खासमा शुक्रबार राति उच्च उच्च अदालत तुलसीपुरको आदेशपछि पक्राउ गर्न पुगेको प्रहरीको टोलीलाई उनले यसरी हकारेका थिए । प्रहरी अधिकारीलाई लामिछानेले हकारेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । जसलाई उनका समर्थकले निकै महत्वका साथ प्रचार गरिरहेका छन् ।

भिडियो हेर्दा, लामिछानेमाथि प्रहरी अधिकारीहरू त्यति सहज ढंगले उपस्थित भएको देखिँदैन । उनीहरूको भाषा शैली निकै रुखो प्रकृतिको छ ।

उनलाई गिरफ्तार गर्न पुगेका प्रहरी अधिकारी डीएसपी दीपक खड्काले ‘तपाईंको अन्तिम इच्छा के हो ?’ भन्दै प्रश्न गरेका थिए । जुन निकै विवादमा तानिएको छ ।

जुन प्रश्नप्रति आक्रामक लामिछानेले आफू प्रधानमन्त्री बन्न छाडेर देशको हितका लागि लडेको भन्ने अभिव्यक्ति दिएका थिए । जुन अहिले चर्चामा छन् ।

अहिले एकातिर प्रहरी अधिकारीको भनाइप्रति विरोध जनाइएको छ भने अर्कोतिर लामिछानेको भनाइमाथि प्रश्न तेर्स्याइएको छ । प्रहरी अधिकारीको भनाई निकै असंगतपूर्ण देखिन्छ । जहाँ ती अधिकारीले आफ्नो मर्यादा बिर्सिएका छन् ।

तर, सँगै लामिछानेले प्रधानमन्त्री बन्न छाडेको भन्ने अभिव्यक्तिले प्रश्न उठाएको छ ।

के लामिछानेले प्रधानमन्त्रीको अफर लत्त्याएका थिए ? कसले गरेको थियो, उनलाई प्रधानमन्त्रीको अफर ?

खासमा सन्दर्भ, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन हेरफेर गरेपछि उठेको थियो । प्रचण्डले सत्ता साझेदार कांग्रेसलाई पाखा पन्छाउँदै एमाले, रास्वपासहितका दलहरूमा सत्तामा भित्र्याएका थिए ।

जुन घटनापछि नै लामिछानेलाई प्रधानमन्त्रीको अफर आएको थियो । जसबारे संसदमा स्वयं लामिछानेले समेत बोलेका थिए ।

आफूमाथि सहकारी ठगीको आरोप लगाउँदै कांग्रेसले संसदमा अवरोध गरेपछि संसदमा सम्बोधनका क्रममा उनले ‘अफर लत्त्याएपछि आफूलाई घेराबन्दीमा पार्न खोजिएको’ भन्दै बोलेका थिए ।
यद्यपि, कांग्रेसले भने उक्त विषयलाई नकार्दै आएको छ । कांग्रेसले लामिछानेलाई कहिल्यै प्रधानमन्त्रीको अफर नगरेको बताउने गरेको छ ।

तर, घटनाका साक्षी र रास्वपाका तत्कालीन महामन्त्री मुकुल ढकालका अनुसार कांग्रेसले लामिछाने झुक्क्याउने शैलीमा अफर गरेको दाबी गर्दछन् । तत्कालीन समय लामिछानेलाई झुक्क्याएर गठबन्धन तोड्ने मनसायले कांग्रेसले त्यस्तो अफर गरेको उनको भनाई छ ।

“ त्यतिबेला प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग गठबन्धन परिवर्तन गरी एमाले–रास्वपा गठबन्धन बनाए र रवि दाइ गृहमन्त्री बने, कांग्रेस प्रतिपक्षमा बस्यो । कांग्रेस प्रतिपक्षमा बसेपछि विभिन्न माध्यम र कोणबाट डेमोक्रेटिक एलायन्स बनाउने प्रस्तावहरू आए । नेपाली कांग्रेसले त्यतिबेला रवि लामिछानेलाई १ वर्षका लागी प्रधानमन्त्री बनाउने र त्यसपछि शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने गरी प्रस्ताव गरेको थियो”, ढकालले सो प्रस्तावबारे भनेका छन्, “तर, कांग्रेसलाई पत्याउन सक्ने दरिलो आधार थिएन, रास्वपालाई झुक्क्याएर, छलेर देउवा नै प्रधानमन्त्री बन्ने छन् भनेर कानुन र संविधानका पाटाले देखाइसकेपछि बल्ल रवि दाइ प्रधानमन्त्री नबनिने रहेछ, यो त झुक्क्याइएको रहेछ भन्नेमा पुगे र त्यसपछि कांग्रेसप्रति नै आक्रामक भएर प्रस्तुत भएका थिए ।”

यसरी हेर्दा, लामिछानेलाई आएको प्रस्ताव सही देखिन्छ तर, स्वयं लामिछानेभित्रै प्रस्तावको नियतमाथि भने संशय भएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार