

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछाने नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्न हतारिंदा आफूले रोकेको दाबी गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा उनले रवि लामिछाने प्रधानमन्त्री बन्न हतारिएको तर आफूले संविधानको प्रावधान देखाएर त्यसलाई रोक्नु परेको भनेका छन्।
शुक्रबार साँझ आफूलाई पक्राउ गर्न आएका प्रहरी अधिकारीलाई रास्वपा सभापति रवि लामिछानेले ‘आफू प्रधानमन्त्री बन्न छोडेर हिंडेको’ भन्दै अभिव्यक्ति दिएका थिए। जुन भिडिओ अहिले सामाजिक संजालमा भाइरल छ।
त्यसपछि ढकालले कांग्रेसले रविलाई एक वर्षका लागि प्रधानमन्त्री बनाउने, त्यसपछि देउवाले नेतृत्व लिने प्रस्ताव गरेको उल्लेख गरेका छन्।
‘रवि दाइ प्रधानमन्त्री बन्न आतुर भइसकेका थिए,’ ढकालले लेखेका छन्, ‘कसरी सरकार छोड्ने र कांग्रेससँगको सहकार्यलाई प्राकृतिक देखाउने भनेर रणनीति बनाउने जिम्मेवारी मलाई आएको थियो।’
ढकालले त्यसबेला संविधानको धारा १००(२) को उल्लेख गर्दै यस्तो हतारो गलत हुने तर्क गरेको दाबी गरेका छन्।
उक्त धाराअनुसार, सरकारमा सहभागी दलले समर्थन फिर्ता लिँदा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। ‘यस अवधिमा प्रचण्डले तिकडम गर्न सक्थे, वा देउवालाई धारा ७६(२) अनुसार प्रधानमन्त्री बनाउने बाटो खुल्ला हुन्थ्यो,’ ढकालले भनेका छन्।
उनले कांग्रेसको प्रस्ताव तत्काल कार्यान्वयन नहुन सक्ने, ३० दिनभित्र कांग्रेसले धोका दिने सम्भावना रहन सक्ने भन्दै त्यसले रास्वपाको क्षति हुने निष्कर्ष निकालेको लेखेका छन्।
रवि लमिछानेले प्रधानमन्त्री पद छोडेको भन्ने दाबी निराधार भएको भन्दै उनले इतिहासको कुनै पनि समयमा रविलाई प्रधानमन्त्री बन्ने अवसर नजुटेको बताए।
ढकालले लेखेका छन्, ‘इतिहासको कुनै पनि समयमा रवि लामिछानेलाई प्रधानमन्त्री बन्ने अवसर जुटेको थिएन। प्रधानमन्त्री पद छोडेको भन्ने दाबी निराधार हो।’