जापानमा मञ्चन हुँदै नाटक ‘आतुरकाल’, कुन ठाउँमा कहिले ?-Sutra News

जापानमा मञ्चन हुँदै नाटक ‘आतुरकाल’, कुन ठाउँमा कहिले ?

आइतबार, २४ चैत्र २०८१

आइतबार, २४ चैत्र २०८१

काठमाडाैं । केदारनाथ पौडेलको लेखन र निर्देशनमा बनेको नाटक ‘आतुरकाल’ जापानमा मञ्चन हुने भएको छ। नाटक यही अप्रिल १२ र १३ मा इटाबासीस्थित सबटरेनियन नाटकघरमा र अप्रिल १४ मा टोकियोको नाकानो जिरो हलमा मञ्चन गरिने टिमले जनाएको छ।



इन्द्रेणी थिएटर पोखराको प्रस्तुति रहेको नाटकमा नेपाली समाजको पीडा, विस्थापन, वर्ग संघर्ष तथा युद्धका त्रासदीपूर्ण क्षणहरूको मनोवैज्ञानिक चित्रण गरिएको निर्देशक पौडेलले बताए। ‘जीवनका विभिन्न मोडमा पात्रले भोगेका दुःख, बिछोड, सपना, समाजको विभेद तथा निरन्तर आइरहने नियतिको खेललाई नाटकले प्रस्तुत गर्छ,’ उनले भने।

उनका अनुसार नाटकको कथा एउटा वृद्ध पात्रको स्मृतिहरू वरिपरि घुमेको छ। नाटकले ती वृद्धको बाल्यकालका सुखद क्षणदेखि पारिवारिक बिछोड, सामाजिक विभेद, विस्थापन, संघर्ष र अन्ततः वृद्धावस्थाको एक्लोपनलाई उजागर गर्ने उनले बताए। जापानमा हुने यो नयाँ प्रदर्शनसँगै नेपाली नाटकले अन्तर्राष्ट्रिय मञ्चमा अझ गहिरो छाप छोड्ने निर्देशक पौडेलको अपेक्षा छ।

नाटकमा नाट्यकर्मी किरण चापागाईँको एकल अभिनय रहेनछ । युरोप, अमेरिका, क्यानडा लगायतका मुलुकमा नाट्यकला अध्ययन गरेका चापागाईँले विभिन्न देशमा थिएटर कार्यशाला पनि गराएका छन्।

उनले यसअघि ‘अश्वेत’, ‘भागवत टोलमा भोलाराम’, ‘राजेन्द्र लक्ष्मी’, ‘महासत्व’, ‘माउजङ्ग बाबू साहेवको कोट, ‘अनुत्तर’ लगायत दर्जन जति नाटकमा अभिनय गरिसकेका छन्।

‘आतुरकाल’ यसअघि पोखरा थिएटरमा सन् २०२१ को फेब्रुअरी २२ देखि ३२ सम्म तथा रसियन हाउस, काठमाडौँमा २०२३ सेप्टेम्बर ७ देखि ९ सम्म मञ्चन भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार