फिल्म ‘द महावीर’ घोषणा, राजेश हमालदेखि अनमोलसम्म रहने चर्चा-Sutra News

फिल्म ‘द महावीर’ घोषणा, राजेश हमालदेखि अनमोलसम्म रहने चर्चा

आइतबार, २४ चैत्र २०८१

आइतबार, २४ चैत्र २०८१

काठमाडाैं । जिबी आग्रीको निर्देशनमा फिल्म ‘द महावीर’ बन्ने भएको छ। आइतबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो।



पोस्टरमा दुईवटा घोडामा चढेका दुई व्यक्ति आमनेसामने भएको देखिन्छ। बीचमा ठूलो तरबार रातो कपडाले बेरिएको छ। पृष्ठभूमिमा भने युद्ध भइरहेको देखिन्छ। पोस्टरबाट फिल्म ऐतिहासिक कथामा आधारित रहने संकेत गर्छ।

लक्षरा फिल्सको प्रस्तुतिमा बन्न लागेको फिल्ममा कृष्ण बिके र जिबी आग्रीको लेखन छ। कृष्ण बिके, बिआर रेड्डी र सन्तोष लुहार निर्माता रहेको फिल्मको सह-निर्मातामा रम्भा देवी र लक्ष्मण बिके तथा कार्यकारी निर्मातामा संगीतकार सुरेश अधिकारी छन्।

पोस्टरमा फिल्म हिन्दी र नेपाली भाषामा रिलिज हुने उल्लेख छ।

फिल्ममा को-को कलाकार रहनेछन् भन्ने जानकारी गराइएको छैन। यद्यपि, राजेश हमाल, भुवन केसी, रेखा थापा, दयाहाङ राई, सौगात मल्ल, अनमोल केसी, धिरज मगर, आँचल शर्मा, मिरुना मगर लगायतको फिल्ममा अभिनय रहने चर्चा छ।

म्यूजिक भिडियो निर्देशकको रुपमा परिचित जिबी आग्रीले ‘द महावीर’बाट फिल्म निर्देशनमा डेब्यु गर्न लागेका हुन्। उनले ‘हजुर मुसुक्कै’, ‘रातो टिकी’, ‘राधा पियारी’, ‘नीरमाया’, ‘सान्नानी’ लगायतका तीन दर्जन बढी म्यूजिक भिडियो निर्देशन गरिसकेका छन्।

उनले फेसबुकमा ‘द महावीर’को थिम पोस्टर सेअर गर्दै यसबाट आफूले अर्को चुनौतीको सामना गर्ने निर्णय गरेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार