

सरकारविरुद्ध हुने अधिकांश आन्दोलनमा नारा घन्किन्छ – सरकार तिम्रो पाराले, दुःख पायो साराले । आज सरकार संवेदनशील नबन्दा, जिम्मेवारपूर्ण नहुँदा सडकमा सोही शैलीमा नारा लाग्न थालेका छन् । सडकमा नागरिकले सरकारको खुलेर आलोचना गरिरहेका छन् । सरकारलाई जिम्मेवार बन्न भनिरहेका छन् । तर, नागरिकका आवाजलाई सरकारले भने सुनिरहेको छैन । सरकारले सडकका नारालाई ध्यान दिइरहेको छैन ।
केही दिनदेखि नै केन्द्रीय राजधानी काठमाडौं वायु प्रदूषणले सकसमा छ । विश्वमै सबैभन्दा खराब वायु प्रदूषण भएको सहरमा काठमाडौं परेको छ । वायु प्रदूषण उच्च तहमा पुग्दै गर्दा काठमाडौंमा श्वासप्रश्वाससम्बन्धी समस्याबाट थुप्रै नागरिक पीडित बनेका छन् । काठमाडौं वायु प्रदूषणले सकसमा परिरहँदा सडकमा भने एकपछि अर्को गरी नारा, जुलुस र प्रदर्शन हुन थालेका छन् ।
आज शिक्षकहरू कक्षा कोठा छाडेर सडकमा ओर्लिएका छन् । सडकमा ओर्लिएका शिक्षकहरूले सरकारसँग आफूलाई न्याय दिन माग गरिरहेका छन् । यसअघिका सहमतिको पालना गर्न भनिरहेका छन् । शिक्षकहरूले यस पटकको आन्दोलनलाई उधारो नराख्ने पनि बताइरहेका छन् ।
हुन पनि शिक्षकहरू यसअघि पटक–पटक आन्दोलनमा उत्रिएका थिए । २०७५, २०७८ र २०८० को आन्दोलनपश्चात भएका सहमति सरकारबाट कार्यान्वयन भएन । विशेषगरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागलाई सरकारले पटक्के सम्बोधन गरेन । सहमति गर्ने र कार्यान्वयन नगर्ने सरकारको रवैयाले शिक्षक आन्दोलित हुन बाध्य बने । तर, अझैसम्म पनि सरकारले आन्दोलनलाई सम्बोधन गर्न खोजेको छैन ।
शिक्षक मात्रै होइन, सडकमा अन्य पेसाकर्मी पनि ओर्लिएका छन् । सडकमा ओर्लिएका चिकित्सकहरूको माग छ– मन्त्रिपरिषद्बाट पारित भएको न्यूनतम तलब दिलाइयोस् । मन्त्रिपरिषद्ले चिकित्सकहरूको न्यूनतम पारिश्रमिक ४८ हजार तोकेको छ । तर, चिकित्सकहरू तोकिएको न्यूनतम तलबको आधा रकम पाउने अवस्थामा छैनन् । एकातिर समयको पाबन्दी छैन भने अर्कोतिर पाउनुपर्ने पारिश्रमिक नपाउँदा चरम शोषण भोग्न बाध्य छन् ।
सँगै, आज सहकारी पीडितहरु ठूलो संख्यामा सडकमा छन् । सहकारी ठगको चंगुलमा फसेका पीडितहरूले न्याय खोजिरहेका छन् । उनीहरूले पीडकमाथि कारबाही गर्दै न्याय दिन सरकारसँग माग गरिरहेका छन् । सहकारी पीडितले सडकमा डेरा जमाएको अहिले होइन, महिनौँ बितिसकेको छ ।
आज सडकमा कोही लघुवित्तबाट घरबास उठेका छन् त कोही बैंकबाट ठगिएका, कोही केबलकारको नाममा लुटिन खोजेका छन् त कोही सरकारकै समस्यामा परेका । अनि कतै सडकमा कुलमान घिसिङ पक्षधर छन् त कतै गणतन्त्र पक्षधर सँगै कतै पूर्व राजाका समर्थक । केही राजनीतिक स्वार्थले सडकमा जम्मा भइरहँदा अधिकांश भने वास्तविक पीडितहरू छन् । तर, सरकारले ती पीडितहरूको न प्रदर्शनलाई देखेको छ न त आवाजलाई सुनेको छ ।
घरमूली बिग्रियो भने घर भत्किन्छ, परिवार बिग्रिन्छ, सबैले दुःख पाउँछन् । आज सरकार जिम्मेवार देखिएको छैन । सरकार बेप्रवाह बनिरहँदा नागरिकले अन्यायको अनुभूति गरेका छन् । नागरिक रुँदै सडकमा आउन बाध्य छन् । जसले समग्र मुलुक समस्यामा परेको सन्देश दिएको छ । सरकारलाई भन्नुपर्छ– सरकार तिम्रो पारा सच्याऊ, जिम्मेवार बन, जबाफदेही बन । यदि बन्दैनौ भने, घरमा मूली परिवर्तन हुन सकस होला, मुलुकको मूली परिवर्तन हुन सकस हुँदैन ।