

अहिले नेपालीहरुको पत्रकारिता मोबाइलबाट सुरु हुन्छ । जसले जति गाली र विरोधको भाषा प्रयोग गर्यो उही भाइरल हुने र उसैलाई जनताले पत्याउने जमाना छ । सरकारको विरोध गरेपछि मात्रै त्यो पत्रकारको साधना सिद्धि हुन्छ र उ प्रसिद्ध हुन्छ । हिजो पञ्चायत विरुद्धमा खुङ्खार उत्रिएका पत्रकारहरू अहिले गणतन्त्रमा कुलीन वर्गमा कहलिएका छन् र सत्ताको स्वाद तिनैले लिइरहेका छन् । यो देशमा बौद्धिकता बिक्दैन । यहाँ धेरै अध्ययन गरेको मान्छेलाई पागल भन्छन् ।
हिजो महाकविलाई राची लानुपर्छ भन्ने जमात पनि यहीँ थियो अनि गोपाल प्रसाद रिमाललाई बौलाहा भन्ने भिड पनि यही थियो । धेरै अध्ययन चाहिन्न अक्षर सम्म लेख्न जाने भो । विद्वान र विद्वता फेल खान्छन् हाम्रोमा। हामीमा विवेकशीलता ज्यादै कम छ त्यसैले पनि विभिन्न बहानामा देश सधैँ अशान्त छ । हामीमा असल खराब के हो भनेर प्रष्टसग छुट्टाउन सक्ने सामर्थ्य छैन र अहिलेको दैनिक अराजक परिस्थिति सिर्जनाको पछाडि पनि बौद्धिक क्षमताको कमी हो ।
हामी भिडसँग रमाइलो मनाउँछौ । हामी फुर्सदमा छौ। हामीसँग काम छैन। हामी बेइलमी छौ त्यसैले हामी दैनिक सडकमा छौ । हामी लाससँग सेल्फी खिच्छौ र स्ट्याटस हाल्छौ र भन्छौ “मलाई कस्तो देखिएको छ ह ?” हामी सबै नेपालीको एउटा कुरा चैँ मिल्छ त्यो हो मपाईँत्व । म नै सर्वोच्च हु अरू सबै झारपात हुन ।
पाँच हजार पर्ने मोबाइलबाट मान्छे रोएको, हासेको, मरेको, गाडी पल्टेको ,मशान घाटमा लास जलाएको, केटी केटी भुत्लाभुत्ली गरेको ,हातमा रक्सीको बोतल लिएर रक्सी पिइरहेको, गल्फ मुलुकहरूमा केटाकेटीले छाडा शब्द बोलेको ,भिरबाट भैँसी लडेको, बाटो भत्केको, सरकार विरोधी नारा जुलुस लगाएको ,टिक टकका नाउँमा अनेक अभिनय हालेर अहिलेका युवाहरू सबै जना धेरै जानकार धेरै बुद्धिजीवी र पत्रकार बनिरहेका छन् । यसो गर्दागर्दै कुन बेला उ भाइरल भइदिन्छ र ठुलो पत्रकारका रूपमा चिनिन थाल्छ कुनै अत्तोपत्तो हुन्न।
हाम्रा गाउँमा एक जना भाइ थ्यो लफडा प्रसाद उ गाउँभरिको दादा । बलियो थ्यो खाइलाग्दो। जात्रा मात्रामा रक्सी खाने झगडा गर्दै हिँड्ने । उ देखि सब तर्सिन्थे । चुनावको बेलामा उसलाई एउटा नाम चलेको पार्टीले उपयोग गर्यो। अहिले त पत्रकार भएको छ । आधा/आधा घण्टामा फेसबुके न्युज हाल्छ। चन्दा मागेर हैरान । अलिकति नदिए फेरि तथानाम गाली गर्छ फेसबुकमै गालिगर्दिन्छ।
कतिपय घटनाहरु यति संवेदनशील हुन्छन् कि जहाँ गुडिरहेको गाडी, उडिरहेको हवाई जहाज, हिँडिरहेको मान्छे, उभिरहेको बस्ती या मान्छेको आवास घर्लप्पै ढल्न सक्छ । कसले कल्पना गरेको थियो होला भीमसेन थापाको धरहरा कहिले पनि नउठ्ने गरेर सधैँका लागि निदाउँछ भनेर। कुनै प्राकृतिक वा दैवी विपत्तिका कारणले कुनै दुर्घटना निम्तिन्छ ।
यात्रुले खचाखच भरिएको गाडी अनायास त्रिशूली नदीमा खसेको त्रासदी दृश्य आफ्नै आँखाले देखेका मोटरसाइकलमा पछि पछि आइरहेका अर्का यात्री हत्त न पत्त बाइकबाट ओर्लिन्छ र त्यो कारुणिक दृश्यमा आफ्नो थुतुनो तेर्साएर मोबाइलबाट सेल्फीपो खिच्न थाल्छन् । त्यो दुर्घटना पर्नेले उनीबाट सहयोगको अपेक्षा राखेका हुन्छन् तर त्यो सेल्फी खिच्ने मनुष्य दुर्घटनाको रक्तरन्जित मान्छेको रोदनलाई आफ्नो सेल्फीको दृश्य बनाउँछन् र फेसबुकमा पोस्टयाउछन । र भाइरल हुन्छ। त्यो विपत्तिमा रगत मुछिएका घाइतेलाई उद्धार होइन त्यस्तो भिडियो बनाएर उ भाइरल हुन्छ।
मानिस विपत्तिमा उद्धार होइन भिडियो खिचेर पैसा कमाउने दाउमा छ अहिलेका युवा । बीभत्स दृश्य आफ्नो मोबाइलमा कैद गर्न व्यस्त ती र त्यस्ता जंगली मान्छेहरूको सङ्ख्या थपिँदै छ यहाँ । भइचालो आउन सक्छ । पहिरो वा बाढीले सारा बस्ती बगाउन सक्छ। हिँड्दै गरेको मानिस हिर्दयघातका कारण ढल्न सक्छ । कुनै अग्लो स्थानबाट मानिस लड्न सक्छ । कुनै पनि बेला मनुष्यले नचाहेको दुर्घटना वा भवितव्य हुन सक्छ । यसैलाई भनिन्छ नियमित आकस्मिकता । यस्ता बिपदका बेला मानिसहरूलाई सहयोग र उपचारको आवश्यकता हुन्छ तर वरिपरि थुप्रीन्छन रमिते स्यालहरू र मोबाइलबाट सेल्फी खिच्न थाल्छन् । र भाइरलको सपना देख्न थाल्छन्।
यो भन्दा अरू जंगली र बर्बरता के हुन सक्छ होला र ? आदिम प्रवृत्ति हो यो जति बेला मनुष्यहरू जंगली जिन्दगी भोग गर्थे। सिकारी युगमा मनुष्य पशुको मासु खोसाखोस गर्दै खान्थे। यो प्रवृत्ति त्यही युगको बिम्ब हो। हामीमा माया दया सहयोग सान्त्वना र सद्भावनाको भाव दुन दिनै मर्दै गएको छ । आदिम युगमा मनुष्यले मनुष्यलाई चिर्पटले हिर्काएर मार्थे । अनि त्यो दारुण दृश्य हेर्न उपस्थित रहेका आदिम मानव त्यो देखेर हेरेर आनन्द लिन्थे।
मनुष्यको यो आदिम प्रवृत्तिको अवशेष अहिलेसम्म पनि उस्तै छ । अहिले भिरमा खसेको बसको मानिसहरूको कारुणिक दृश्य खिच्न व्यस्त सेल्फिस तपाई, म, उ, उनीहरू र हामीहरू सबै जना सेल्फिस हुँदै गएका छौ। उद्धार र सहयोग को अपेक्षाले रोइरहेको मानिसको आँसु हाम्रो कमाइ खाने भाडाे बनेको छ।