

काठमाडौं । अहिले उपत्यकाको धेरै सहरमा बेला बेलामा बत्ती निभ्न थालेको छ। बत्ति निभ्यो कि कुलमान घिसिङ्लाई सम्झिने नेपाली जनताको आदतसँगै राज्यको ज्यादती पनि सहन गर्नुपर्ने बाध्यता छ। चैत, बैशाख र जेठ महिनाको चरम सुख्खा मौसममा पनि कसरी कुलमानले जनतालाई अध्यारोबाट बचाएका रहेछन्, अहिले आम उपभोक्ताले महसुस गर्न थालेका छन्। कुलमान अगाडिका विद्युत प्राधिकरणका प्रमुखहरुले कसरी बिजुली निभाएर स्व-व्यापार गरेका रहेछन्, त्यो कुरा जनताले कहिले बिर्सिदैनन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको नाटकीय रङ्गमन्चमा पछिल्लो समय एकपछि अर्को गर्दै असल पात्रहरु बाहिरिने र कमसल पात्रहरु भित्रीने क्रम जारी छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बराल हुँदै बालेन शाह, रवि लामिछाने, कुलमान जस्ता ब्यक्तिहरु रङ्गमन्चबाट बाहिरी सकेका छन्। अहिले जुनसुकै कार्यालयमा पनि पोलटिकल ग्रुपिजम छ।
असल ब्यक्तिहरुलाई गलहत्याउने कामको दोस्रो उदाहरण कुलमान हुन्। राज्यकोषलाई बाउको ढुकुटी र आफू त्यस्को खजान्ची सम्झिने ब्यक्तिहरु यतिबेला राज्यकोषमा हालिमुहाली गर्दैछन्।औद्योगिक उत्पादन कारखानाहरुले उपभोग गरेको बिजुलीको बक्यौता नउठाउँ भनेर धनीहरुलाई सुबिधा दिने, यता गरिबले दुई/चार दिन बिल तिर्न ढिलो गर्यो भने जरिवाना तिराउने सरकारको रवैयाले जनता नै दुई भागमा बिभाजन भए जस्तो देखिन्छन्।
कुलीन वर्ग अर्थात सुबिधाभोगी वर्ग अर्को सुबिधाहीन वर्ग अर्थात गरिब वर्ग। कुलमान गरिबका साथी थिए तर सरकार धनीको पक्षमा उभियो। त्यसकारण पनि कुलमान फ्याकिए। अब हरेक दिन लोडसेडडिङ सुरु हुन थालेको छ।
सरकार कम्जोरलाई होइन, कामचोरलाई सहयोग गर्छ। पछिल्लो समय देखिएको कयौ विवादस्पद कुरा र मुद्दाले त्यही कुराको पुस्ट्याइ गरिरहेको उदाहरण छ। अहिले सरकारको आँखामा बालेन कसिङ्गर बनेका छन्। जसरी हुन्छ अहिले राज्यको उदेश्य बालेनलाई सिद्द्याउने प्रपन्च सुरू भएको छ। बालेन एक होइनन् सक्किनलाई।
बालेन जस्ता कयौं युवाहरु सम्भावना खोज्दै कर्मको मैदानमा उत्रन थालेका छन्। सत्यले हार्ने र असत्य विजयी हुने सतिको श्राप परेको यो देशमा यस्तै यस्तै हुन्छ। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदाको सुबिधा लिएर मुलुक बाहिर गएका सयौं प्राध्यापक/उपप्रध्यापकहरु नेपाल फर्किन चाहदैनन्। अहिले नेपालले ब्रेनड्रेनको समस्या खेपिरहेको छ। सरकार सत्ता टिकाउने र लम्ब्याउने खेलमा जो सँग पनि जस्तोसुकै सम्झौता गर्न तयार छ।
एकातिर जन आक्रोश लिएर दैनिक सडक आन्दोलन चलिरहेको अवस्था छ। शिक्षक आन्दोलनलाई कम आकलन नगरियोस्, यही कारणले पनि सरकार ढल्न सक्छ। एसइइको कापी चेक नगर्ने, स्कुलमा तालाबन्दी गर्ने र शिक्षा नियमावली लागू गर भनेर उनीहरू माग गरिरहेको अवस्था छ। लोडसेडिङको समस्या समाधानका उपाय अवलम्बन गर्नुपर्ने बेलामा कुलमानको बहिर्गमनले आज बत्ती निभ्न सुरु भए जस्तै शिक्षकका मागलाई पनि यो केही होइन भनियो भने राज्य असफलतातिर जाने सम्भावना प्रवल छ।