

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको बताएका छन्।
आज गणेशमान सिंह फाउण्डेशनले आयोजना गरेको ‘नेपाल भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारतले उचालेको त छैन भन्ने भ्रमसमेत सिर्जना भइरहेको बताए।
तर, भारत नेपालीहरुको पक्षमा, गणतन्त्रको पक्षमा र प्रजातन्त्रको पक्षमा रहेको आफूलाई पूर्ण विश्वास रहेको उनको दाबी छ।
‘अहिले राजा स्थापना गर्छौं, पूर्वराजा, भारतमा के छ भन्ने हल्ला चलिराखेको छ। भारतले नै उचाल्यो कि क्या हो भन्ने पनि छ। यहाँ आदित्यनाथको फोटो छापियो। तर, मलाई के थाहा छ भने आदित्यजीले भारतको जो हाम्रो दूतावास छ। दूतावासमा गएर यो झुठा कुरा हो। यसमा मेरो कुनै हात छैन, नेपालको जनताले जे चाहन्छन् त्यही नै हुन्छ भनेर उहाँ आफैंले भन्नु भएको कुराले हामीलाई के लागेको छ भने भारत नेपालसित छ, गणतन्त्रसित, प्रजातन्त्रसित छ। खिलाफमा छैन भन्ने हामीलाई लागेको छ,’ सभापति देउवाले भने।
भारतसित नेपालको धेरै राम्रो सम्बन्ध रहेको र भारतले पनि नेपाललाई धेरै ठूलो सहयोग गरेको सभापति देउवाले बताए। भारत र नेपालबीच रहेका समस्याहरुलाई कुराकानी गरेर र वार्ताको माध्यमबाट समाधान गर्न सकिने पनि उनले बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले छिट्टै भ्रमणको निम्तो दिनेमा उनले विश्वास व्यक्त गरे।