

काठमाडौं । नेपाल दलित संघ, काभ्रेपलाञ्चोकले नेपाली कांग्रेसको वडा सम्पर्क कार्यालयमा प्रवेश गर्दा घरधनीले अपमानित र जातीय विभेद गरको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघका अध्यक्ष उस्पर सुनारले सोमबार विज्ञप्ति जारी गरेर जातीय तथा अन्य सामाजिक भेदभाव गर्ने व्यक्तिलाई कानूनअनुसार कारबाहीको माग गरेका छन्।
उनले भने, ‘छुवाछुत प्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत एवम् समतामूलक समाज निर्माणका सबै पक्षको एकताबद्ध र निरन्तर प्रयासको आवश्यक्ता पर्दछ। जातीय विभेद सामाजिक, नैतिक र मानवीय गरिमा विरुद्धको जघन्य अपराध हो। अपराध गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउन राज्य नचुकोस्।’
चैत २१ गते काभ्रेपलाञ्चोक जिल्लाका पाँचखाल नगरपालिका वडा नं. १३ मा नेपाली कांग्रेसबाट दलित वडा महिला सदस्य विमला विश्वकर्मालाई सोही वडाको यमुना नरालको घरमा रहेको नेपाली कांग्रेसको वडा सम्पर्क कार्यालयमा प्रवेश गर्दा पार्टी कार्यालयको घरधनी यमुना नरालले अपमानित र जातीय विभेद तथा छुवाछुतलाई प्रोत्साहन गर्ने शब्दहरूको प्रयोग गरी तथानाम गालीगलौज गरेको संघका अध्यक्ष सुनारले बताए।
‘नेपाल दलित संघ काभ्रे जिल्ला कार्यसमिति यस प्रकारका गतिविधिको सदैव विरोध गर्दछ। दोषीहरू कुनै पनि बहानामा उम्किन नदिन जोडदार माग गर्दछ’, अध्यक्ष सुनारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
पार्टी कार्यालयमा पुगेकी वडा सदस्य विश्वकर्मालाई नगरपालिकाकै स्वास्थ्य स्वयंसेविका समेत रहेकी नरालले जातीय विभेदयुक्त अत्यन्त निकृष्ट शब्द प्रयोग गर्दै अपमानित गरेर थुकेको वडाध्यक्ष सुकराम तामाङले बताए।
उनले भने, ‘विमलाजीले मलाई तपाईले नै भोट दिएर जिताएको हो के भन्नुभएको दिदी भनेर प्रतिवाद गर्दा पनि यमुनाजी रोकिनुभएन। माफी मागेर छाड्दिन्छु भन्दा पनि उहाँले यो कमिनीसँग माफी माग्दिन भन्दै तुच्छ तहमा उत्रिएपछि प्रहरीले पक्राउ गरेर लगेको छ। दुवैजना कांग्रेसकै सदस्य भएकाले गाउँ ठाउँको कुरा मिलाउन खोज्दा पनि उहाँ मान्नुभएन, अब कानून बमोजिम हुन्छ।’