तीनकुनेमा अराजक बनेका दुर्गा प्रसाईंका कार्यकर्तालाई राप्रपाको सभामा ‘नो इन्ट्री’-Sutra News

तीनकुनेमा अराजक बनेका दुर्गा प्रसाईंका कार्यकर्तालाई राप्रपाको सभामा ‘नो इन्ट्री’

सोमबार, २५ चैत्र २०८१

सोमबार, २५ चैत्र २०८१

काठमाडाैं । राप्रपाले भोलि (मंगलबार) काठमाडौंको बल्खुमा सभा गर्दैछ।



राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार मंगलबार बल्खुमा हुने सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरुले सम्बोधन गर्ने छन्।

राप्रपाले संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले उक्त प्रदर्शन र सभा गर्न लागेको हो। सभा सुरु हुनुअघि काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालिने छ। ती जुलुस सभामा परिणत हुने राप्रपाले जनाएको छ।

प्रदर्शन र सभालाई शान्तिपूर्ण बनाउने तयारी राप्रपाको छ। यसअघि चैत १५ गते राप्रपाको समेत समर्थन र सहभागितामा संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि भन्दै काठमाडौंको तीनकुनेमा आयोजना गरिएको सभा हिंसात्मक भएको थियो।

दुर्गा प्रसाईंले नेतृत्व गरेको प्रदर्शनमा २ जनाको मृत्यु भएको छ भने अर्बौंको भौतिक क्षति पुगेको थियो।

लगत्तै बसेको राप्रपाको बैठकले हिंसा भड्किनुको दोष सरकारलाई लगाएको थियो। तर हिंसा भड्काएको भन्दै प्रहरीले राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा लगायतलाई पक्राउ गरेको छ। आन्दोलनका कमान्डर प्रसाईं भने अहिलेसम्म फरार छन्।

प्रदर्शनकारीलाई हिंसात्मक गतिविधिमा उत्रिन ‘म्यानिपुलेट’ गर्ने र ‘अघि बढ्नुस्’ भन्दै भीडलाई उक्साउनेमा राप्रपाका उपाध्यक्ष मिश्र र महामन्त्री राणा नै थिए। अझ फरार प्रसाईंले त प्रहरीलाई मार्ने उदेश्यले गाडी हुइक्याएका थिए। त्यसपछि उक्त आन्दोलन अराजक बनेको थियो।

यसबीच राप्रपाले मंगलबार गर्न लागेको विरोध प्रदर्शन पनि अराजक हुने त होइन, अनि फरार रहेका दुर्गा प्रसाईं समूहका मान्छे पनि सहभागी हुने हो कि ? भन्ने आशंका जन्माएका छन्।

के भृकुटीमण्डपमा प्रसाई समूहका मान्छे पनि जान्छन् भन्ने प्रश्नमा राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले उनीहरूलाई प्रवेश नै नदिने बताए। उनी भन्छन्- प्रसाईंका मान्छेहरू हुँदैनन्, हामी सहभागी गराउँदैनौँ।

संघीय सांसद तथा पूर्वमन्त्रीसमेत रहेका प्रधानका अनुसार राप्रपा अब प्रसाईं समूहसँग टाढा रहने रणनीतिमा छ। एजेण्डा एउटै भए पनि मार्ग फरक रहेको उनको भनाई छ।

अरू राजावादीको समर्थन

तीनकुने प्रकरणपछि घरमै नजरबन्द भएका नवराज सुवेदीले कार्यवाहक संयोजक तोकेका डा. जगमान गुरुङले राप्रपाको प्रदर्शनमा ऐक्यवद्धता जनाइसकेका छन्। आज विज्ञप्ति सार्वजनिक गर्दै उनले राजावादीहरुलाई प्रदर्शनमा सहभागी हुन अपील समेत गरेका छन्।

राजसंस्था पुनर्स्थापनाको पक्षमा हुने जुनसुकै आन्दोलनप्रति समर्थन जनाउने निर्णय गरेको राप्रपाले तीनकुनेको प्रदर्शनमा सक्रिय सहभागिता जनायो। सोही अनुसार गुरुङले राप्रपाको प्रदर्शनलाई समर्थन गरेका हुन्।

त्यसैगरी कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि उक्त कार्यक्रममा सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ।

महामन्त्री राजाराम बर्तौलाले भने, ‘डा. जगमान गुरुङको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिले यही चैत २७ गते बुधवार आयोजना गर्ने प्रतिबद्धता सभालाई सफल बनाउन राप्रपा नेपालले सक्रिय सहयोग गर्नेछ । साथै, उक्त सभामा सहभागी हुन सबै राष्ट्रवादी साथीहरूलाई राप्रपा नेपाल आह्वान गर्दछ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार