

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई खानेपानी उपललब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) सहितको प्रतिनिधिमण्डल भेट्न पुगेका थिए।
त्यस भेटका क्रममा धरानबासीलाई खानेपाली पुर्याउने प्रक्रिया अघि बढेकोबारे प्रधानमन्त्रीले जानकारी गराएको उनको सचिवालयले जनाएको छ।
‘धरानबासीले खानेपानी पिउन पाउनुपर्छ। यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि संघीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ। यो सन्देश धरानबासीलाई सुनाइदिनुहोला,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भन्यो।
खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि सङ्घीय सरकारले तयार गरिसकेको छ ।
गएको माघ ८ मा धरानको खानेपानीको समस्या समाधानका रित्तो गाग्रीसहित सिंहदरबार पुगेका मेयर साम्पाङले खानेपानी मन्त्री प्रदीप यादव र अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेपछि प्रधानमन्त्री ओलीलाई पनि भेटेर अर्को पत्र बुझाउन चाहेका थिए। तर, उनले आज सिंहदरबारमा ओलीसँग भेटै पाएनन्।
त्यसपछि उनले फेसबुकमा स्टाटस लेख्दै आफूलाई प्रधानमन्त्री ओलीले फेस गर्न नसकेको भनेका थिए। ‘केपी ओलीले फेस गर्न सकेनन् मलाई, लेखेर साम्पाङले हाँसेको एमोजी पनि राखेका थिए।
तर, यसपटक भने प्रधानमन्त्री ओलीले उनलाई भेट दिएका छन्।