

क्यालिफोर्निया । अमेरिकाभरि पछिल्लो समय तीव्र गतिमा फैलिरहेको “ ह्यान्डस अफ ” आन्दोलनले राजनीतिक र सामाजिक बहसलाई अत्ताइरहेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनविरुद्ध उठेको यो जनलहर अहिले अमेरिका इतिहासकै एक ठुलो विरोध आन्दोलनमा परिणत भएको छ।
अप्रिल ५ मा सुरु भएको यो आन्दोलनको मूल नाराहरू—”ह्यान्डस अफ आवर राइट्स”, “ह्यान्डस अफ आवर बडि”, र “ह्यान्डस अफआवर फ्युचर”—जनताको आक्रोश, पीडा र चेतनाको प्रतीक बनेका छन्।
आन्दोलन हुनुमा विभिन्न कारणहरू रहेका छन् जसमा गर्भपतनसम्बन्धी कानुनी अधिकार कटौती गर्ने निर्णयको चर्को विरोध भएको छ। महिलाहरूले आफ्नो शरीरमाथिको निर्णय स्वयंकै हुनुपर्ने भन्दै आन्दोलनमा अग्रसरता लिएका छन्। साथै ट्रान्स अधिकार र समलैंगिक विवाह जस्ता संवेदनशील मुद्दामा कट्टर नीति लागू गर्ने प्रस्तावले समावेशी मूल्य प्रणालीमा गम्भीर प्रश्न उठाएको छ।
विशेष गरी प्रवासी समुदायमाथि कडाइ, डिपोर्टेसन प्रक्रियामा तीव्रता र डिटेन्सन केन्द्रको अमानवीय अवस्था पनि आन्दोलनको मुख्य विषय बनेका छन्। अहिलेको सरकारले मेडिकेयर, सामाजिक सुरक्षा, र पेन्सनजस्ता नागरिक सुविधाहरूमा प्रस्तावित कटौतीले वृद्ध र निम्न आय भएका अमेरिकीहरूलाई चिन्तित तुल्याएको छ। उद्योगपति एलन मस्कसँग ट्रम्प प्रशासनको नजिकको सम्बन्ध, र सरकारी निर्णयहरूमा मस्कको प्रत्यक्ष प्रभावको आलोचना भइरहेको छ।
एलन मस्कले प्रदर्शनकारीहरूलाई “गलत सूचित” भन्दै ट्विटर/एक्स मा आलोचना गरेका छन्, जसले जनताबिच आक्रोश झनै चर्काएको छ।
अमेरिकाको १,४०० भन्दा बढी स्थानहरूमा हाल प्रदर्शनहरू भइरहेको छ, र अहिलेसम्म ३० लाखभन्दा बढी नागरिकले प्रत्यक्ष सहभागिता जनाइसकेका छन्। वाशिङटन डिसी, न्यूयोर्क, लस एन्जलस, डलास, सियाटल लगायत सहरहरू आन्दोलनको केन्द्र बनेका छन्।
सामाजिक सञ्जालमा “ह्यान्डस अफ” ट्रेन्डिङमा छ, जसमा जनताले आफ्नो समर्थन, अनुभव, र विचार साझा गरिरहेका छन्। अमेरिकामा रहेका नेपाली समुदायका सदस्यहरूले पनि यस आन्दोलनप्रति चासो देखाएका छन्। कतिपय नेपालीहरू प्रत्यक्ष सहभागी भएका छन् भने केहीले सामाजिक सञ्जालमार्फत समर्थन जनाएका छन्। “हामी पनि यहाँको समाजको हिस्सा हौँ, हाम्रो भविष्यमाथिको असरलाई बेवास्ता गर्न मिल्दैन,” भन्ने नारा छ ।
“ह्यान्डस अफ” आन्दोलन केवल अमेरिकाको आन्तरिक राजनीतिसँग सम्बन्धित होइन, यो विश्वव्यापी रूपमा नागरिक अधिकार, लोकतन्त्र र मानवअधिकारको पक्षमा उठेको आवाज हो। प्रवासमा रहेका हामी नेपालीहरूका लागि पनि यस्तो आन्दोलनले चेतना र सचेतना फैलाउने माध्यम बन्न सक्छ।