

काठमाडाैं । चैत २२ गतेबाट हलमा प्रदर्शनरत चलचित्र ‘वसन्त’मार्फत निर्देशक प्रकाश सपूतले दर्शकलाई एउटा मीठो ‘सरप्राइज’ दिए। उनले करिब एक वर्षसम्म सिनेमाका कलाकार गोप्य राखे।
यो फिल्ममा अभिनेता राजेश हमालको अभिनय छ। अभिनेताहरू दीलिप रायमाझी, निश्चल बस्नेत, नाजिर हुसेन पनि छन्। त्यस्तै, अभिनेत्रीहरू करिश्मा मानन्धर, प्रियंका कार्की, केकी अधिकारी, सुरक्षा पन्त समेतले यसमा अभिनय गरेका छन्।
लोकदोहोरीकी अहिलेकी चर्चित गायिका शान्तिश्री परियार, मोडल अञ्जली अधिकारी समेत फिल्ममा देखिन्छन्। यी सबै कलाकारहरू फिल्ममा केमियो भूमिकामा छन्।
यी कलाकारहरूको अभिनय रहेको कुरा प्रकाशले फिल्म रिलिज हुँदासम्म लुकाएका थिए। हलमा गएका दर्शक एउटै फिल्ममा यति धेरै कलाकारहरू हेर्न पाउँदा सरप्राइज मात्रै होइन नोस्टाल्जिक पनि हुन्छन्।
फिल्म रिलिजपछि यी कलाकारहरूको दृश्यको भिडिओ ‘क्लिप’ खिचेर दर्शकहरू टिकटकमा राखेका क्लिपहरू भाइरल भइरहेका छन्।
यी कलाकारको अभिनय रहेको भनेर यसअघि ‘वसन्त’को निर्माण युनिटले जानकारी दिएको थिएन। यसबारे निर्देशक सपूतले इमान्दार जवाफ दिएका छन्।
हल भिजिटमा पुगेको समयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘मैले दर्शकहरूलाई झुक्याउन नचाहेको हो। पोस्टरमा, प्रमोसनमा उहाँहरूको नाम राखेर, फोटो राखेर प्रचारप्रसार गर्ने तर फिल्ममा छोटो भूमिकामा देख्दा दर्शकहरूमा एक खालको निराशा वा अविश्वास पैदा हुने भएकाले मैले आफ्नो इमान्दारिताका लागि उहाँहरूलाई प्रमोसनमा प्रयोग नगरेको हो।’
उनले भनेझैं दर्शकलाई नझुक्याउन यी कलाकारको नाम राखेर प्रमोसन नगरेको कुरा दर्शकले पनि मन पराएका छन्। अर्थात् फिल्ममा यी कलाकारहरू छन् भन्ने थाहा पाएकै दिनदेखि फिल्म हेर्न दर्शक हलमा पुगिरहेका छन्। साँच्चै भन्नुपर्दा, यी कलाकार रहेको थाहा पाएदेखि ‘वर्ड अफ माउथ’ले ‘बसन्त’लाई साथ दिएको पाइन्छ।
निर्देशक सपूतले राजधानीबाहेक नेपालगंज, बाग्लुङ्ग, इटहरीलगायतका स्थानहरूबाट पनि फिल्म रिलिजको तेस्रो दिनदेखि दर्शकले साथ दिएको बताए। त्यस्तै, सोमबार निर्माता छविराज ओझा, कलाकार केकी अधिकारी, नृत्य निर्देशक शंकर बिसी, गायक खेम सेन्चुरीलगायतले ‘बसन्त’ हेरेका थिए। त्यसपछि उनीहरूले पनि फिल्मको तारिफ नै गरेका थिए।
‘वसन्त’मा प्रकाशसहित स्वस्तिमा खड्का, खड्गबहादुर पुन, प्रभात पाल ठकुरी, श्री शिभांसी, उर्मिला लाम्गादे, अनुप बराल, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ।
मोहन विश्वकर्मा र बिन्दु बोहोरा निर्माता तथा कार्यकारी निर्मातामा वीरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली छन्।