

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाहीले सुनको भाउ गणतन्त्रले बढाएको तर्क गरेका छन्।
राप्रपाले बल्खुमा मंगलबार गरेको आमसभामा बोल्दै प्रवक्ता शाहीले गणतन्त्रले सुनको मूल्य ३ हजारबाट बढेर एक लाख ७३ हजार पुगेको बताएका हुन्।
‘२०४४ सालमा सुनको मूल्य ३ हजार रूपैयाँ तोला थियो। अहिले सुनको मूल्य एक लाख ७३ हजार रूपैयाँ छ। अनि सुनको मूल्य ३ हजार कहाँ, एक लाख ७३ हजार कहाँ ? देश तिमीहरूले बर्बाद पार्यौ कि पारेनौं, विश्व-गगनहरू ?,’ उनले सोधेका छन्।
जबकि अन्तर्राष्ट्रिय बजार मूल्यलाई नेपाली रुपैयाँमा रुपान्तरण गरेपछि सुन आयातमा लाग्ने भन्सार दर तथा बैंक र सुन व्यवसायीको नाफा जोडेर मूल्य तोकिन्छ।
अर्थात् अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ। जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग र आपूर्ति बढी प्रभावित हुन्छ, मूल्य पनि उच्च दरमा घटबढ हुन्छ।
शाहीले डलरको मूल्य पनि गणतन्त्रकै कारण बढेको तर्क गरेका छन्।
उनले आफ्नो पार्टीका नेताहरूलाई थुनिएको तर तीनकुने लगायत जडीबुटीमा आगजनी गर्ने पूर्व माओवादी कार्यकर्ता भएको पुष्टि भएको भन्दै गणतन्त्रवादीहरूले विभिन्न भ्रष्टाचार काण्ड मच्चाएको बताए।
राजसंस्था पुनर्स्थापना र संघीयता खारेजीजस्ता एजेन्डामा राप्रपाले बल्खुमा प्रदर्शन र आमसभा गरेको हो।