

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापा सत्तारुढ दल नेकपा एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष बनेको आरोप लगाएका छन् ।
मंगलबार पार्टीले काठमाडौंको बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले चैत १५ गते राज्यका तर्फबाट हिंसा भड्काएको भन्दै राप्रपा कुनै पनि प्रकारको हिंसामा विश्वास नगर्ने बताए । ‘त्यो हिंसा राज्यका तर्फबाट भड्काइएको थियो । त्यो भन्न कुनै आपत्ति छैन’, लिङ्देनले शान्तिपूर्ण प्रदर्शन र दबाबबाट परिवर्तनको पक्षमा रहेको बताए । चैत १५ को घटनामा भएको क्षतिप्रति अहिलेका प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख जिम्मेवार रहेको उनको भनाइ छ ।
उनले प्रहरी प्रमुख एमालेको युवा संघको सहअध्यक्ष रहेको समेत बताए । प्रहरी प्रहरी नै भएर बस्नुपर्ने भन्दै अध्यक्ष लिङ्देनले कुनै दलको भ्रातृ संगठन भएर प्रहरी संगठन नचल्ने पनि बताए ।
उनले चैत १५ मा भएको राजावादीको प्रदर्शनमा कोही पनि हिंसात्मक नभएको दाबी समेत गरे । सबभन्दा पहिला अश्रुग्याँस र गोली कसले चलायो ? भन्दै उनले मानवअधिकारको कुरा गर्ने बुद्धिजीवीहरू र सञ्चारकर्मीहरू कहाँ हुनुहुन्छ ? भनेर प्रश्न गरे ।