

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मिँदै राजा र रैती हुने व्यवस्था कुनै पनि हालतमा नआउने बताएका छन् ।
मधेश प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई–चार हजारको हुलले सरकारी सम्पत्ति आगजनी, निजी घरमा आगजनी, तोडफोड र मान्छे मार्नेसम्मको काम गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई हल्लाउन नसक्ने जिकिर गरे ।
नयाँ पुस्ताले राजतन्त्र नभोगेकाले उनीहरूलाई राजतन्त्र के हो भन्ने लागेको हुनसक्छ भन्दै प्रधानमन्त्री ओलीले नयाँ पुस्तामा यसबारेमा सचेता जगाउनुपर्ने बताए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र गतिमा रहेकाले दुःखी हुनुभन्दा खुशी मनाउनुपर्ने पनि बताए ।
प्रधानमन्त्री ओलीले मधेश प्रदेशसभामा विशेष सम्बोधन गरेको यो दोस्रो पटक हो । यसअघि मधेश प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतको पालामा पनि ओलीले सम्बोधन गरेका थिए ।
आज प्रदेशसभामा सम्बोधन गर्दै ओलीले मधेश प्रदेश सम्भावना नै सम्भावनाहरूको उर्बर भूमि रहेको बताए । कृषिका लागि उपयुक्त भूमि, जडीबुटीदेखि पानीको अपार स्रोतयुक्त चुरेक्षेत्रलगायत रहेकाले मधेशको सम्भावनालाई उपयोग गर्नुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले मधेश प्रदेशको सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव अत्यन्त सुन्दर पक्ष भएको पनि उल्लेख गरे ।