

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनका क्रममा भएको फोहोर आफैं टिपेर जान कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।
मंगलबार काठमाडौंको बल्खुमा राजसंस्था पुनःस्थापनाको माग गर्दै गरिएको सभामा भएको फोहोर आफैं सफा गरेर जान कार्यकर्तालाई आग्रह गरे।
उनले हतारहतार जरिवाना पत्र काटेर हिरो नबन्न काठमाडौं महानगरका मेयर बाेलन साहलाई चेतावनी पनि दिए।
‘दुईतिर सूचना दिनुपर्ने हो। एउटा बालेनजीलाई। यो क्षेत्र काठमाडौं महानगरभित्र पर्छ होइन ? बालेनजीलाई आजको कार्यक्रमको बारेमा धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु’, उनले भने।
यसअघि चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनपछि महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा ७ लाख ९३ हजार रुपैयाँको जरिवाना पत्र काटेका थिए।
लिङ्देनसहित अन्य नेताहरूले पनि बालेनले जरिवाना गराउनेमा त्रास तथा असन्तुष्टि व्यक्त गरेका थिए। बागमती प्रदेशका राप्रपा अध्यक्ष बिक्रम थापाले पनि बालेन शाहमा पत्र काटेर हिरो बन्ने प्रवृत्ति रहेको भन्दै उनको आलोचना गरेका थिए।
त्यस्तै, पार्टीको बागमती प्रदेश कमिटीका महामन्त्री राजेन्द्र गुरुङले भने, ‘साथीहरू पानी खाएर बोतल जताततै नफालिदिनुहोला, फोहोर नगरिदिनुहोला, एक जना पत्र काट्न तयार बसेको छ।’