

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर सफा गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई धन्यवाद दिएका छन्।
राप्रपाले मंगलबार काठमाडौंको बल्खुमा खबरदारी सभा गरेको थियो। सभा सकिएपछि राप्रपाका स्वयमसेवक तथा नेता कार्यकर्ताहरूले कार्यक्रम स्थलमा रहेको फोहोर सफा गरेका थिए।
‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन, सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ,’ मेयर शाहले मंगलबार अपराह्न फेसबुकमा लेखेका छन्, ‘राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै-धेरै धन्यवाद छ।’
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकालाई कार्यक्रम क्षेत्रको फोहोर राप्रपा आफैले सफा गर्ने भन्दै पत्र नकाट्न आग्रह गरेका थिए। उनले हतारहतार जरिवाना पत्र काटेर हिरो नबन्न बाेलनलाई चेतावनी पनि दिएका थिए।
यसअघि चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनपछि महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा ७ लाख ९३ हजार रुपैयाँको जरिवाना पत्र काटेका थिए।