दुर्गा प्रसाईंलाई काउन्टर दिंदै राजा फर्काउन गरिएको राप्रपाको ‘शक्ति’ कमजोर, देखिएन अराजकता-Sutra News

दुर्गा प्रसाईंलाई काउन्टर दिंदै राजा फर्काउन गरिएको राप्रपाको ‘शक्ति’ कमजोर, देखिएन अराजकता

मंगलबार, २६ चैत्र २०८१

मंगलबार, २६ चैत्र २०८१

काठमाडौं । गएको फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक र नागरिकका नाममा भिडियो सन्देश जारी गर्दै राजसंस्था फर्काउन आफैं सक्रिय हुने संकेत गरे। त्यसबेला उनले आफूहरूलाई साथ दिन भन्दै नागरिकलाई आह्वान गरेपछि राजावादी शक्तिहरू सल्बलाए। अन्तत: पोखराबाट २५ फागुनमा काठमाडौं उत्रिएका पूर्वराजालाई स्वागत गर्न त्रिभुवन विमानस्थल बाहिर सयौंको संख्यामा राजावादीहरू उपस्थित भए।



त्यसयता राजसंस्था पुनर्स्थापना गर्न चाहनेहरू हौसिएका देखिए। संसद, सडक अनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा समेत नेपालमा राजसंस्था पुनर्स्थापनाको पक्षको माहोल बन्दै गएको आशयका समाचारले प्राथमिकता पाए। अनि एकपछि अर्को गर्दै गणतन्त्रवादीहरूले राजावादीहरूको प्रतिवाद गर्न थाले।

कतिसम्म भने, सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेको सचिवालय बैठकले त देशमा राजावादीको गतिविधि बढ्नुमा दक्षिणी छिमेकी देश भारतका हिन्दु अतिवादीको हात रहेको निष्कर्ष निकालेको समाचार सार्वजनिक भएपछि पार्टीको विदेश विभागले विज्ञप्ति नै निकालेर खण्डन गर्यो।

७ फागुनदेखि बिस्तारै हौसिएका राजावादीहरूले १५ चैतमा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुनेमा प्रदर्शन गर्यो। तर, दुई जनाको ज्याने गरी उक्त शक्ति प्रदर्शन हिंसात्मक बन्यो। केही घाइते अहिले पनि उपचाररत छन्। प्रदर्शनकारी उग्र बन्दा निजी घर तथा सरकारी संरचना तोडफोड र आगजनी गरिएको थियो। अर्बौंको क्षति भयो।

उक्त प्रदर्शन पूर्वपन्च नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनःस्थापनाको लागि बनेको संयुक्त जनआन्दोलन समितिको आयोजनामा भएको थियो। त्यसपछि आन्दोलनको दिन पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासमै बोलाएर प्रसाईंलाई जनकमाण्डर तोकेका थिए। यता, राजा फर्काउन लागिरहेको राप्रपाले भने उक्त प्रदर्शनलाई नैतिक समर्थन मात्र गर्ने तर सहभागी नहुने निर्णय गरेको थियो।

तर पार्टीको त्यस निर्णयको विपरीत वरिष्ठ नेता रवीन्द्र मिश्र, सांसद तथा महामन्त्री धवल शमशेर राणालगायतका नेताहरू मैदानमै सहभागी भए। अझ मिश्रले त ‘अगाडी बढ्नुहोस्’ भन्दै भीडलाई उत्तेजित गरेको भिडिओ नै सार्वजनिक भएपछी उक्त प्रदर्शन हिंसात्मक बन्यो। त्यसपछि राप्रपाले उक्त हिंसाको आफूहरू जिम्मेवार नभएको बरू सरकार नै त्यसको कारक भएको निष्कर्ष निकाल्यो।

त्यही प्रदर्शनपछि राप्रपा दुर्गा प्रसाईंको भन्दा बृहत प्रदर्शन गर्नुपर्यो दबाबमा थियो। आजको आन्दोलन पूर्वनिर्धारित नै भएपनि तीनकुने प्रदर्शनपछि प्रसाईंको भन्दा ठूलो शक्ति प्रदर्शन गर्नुपर्ने राप्रपाको नातिक दबाब थियो। सोहीअनुसार उसले राजधानी र आसपासका स्थानहरूबाट कार्यकर्ताहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दियो।

फेरि राप्रपाको आजको आन्दोलन कमजोर देखियो। दुर्गा गृह मन्त्रालयका अनुसार तीनकुने प्रदर्शनमा १२ हजारको उपस्थिति थियो तर राप्रपाको प्रदर्शनमा भने त्यसको ५ गुणा कम उपस्थिति रह्यो। बल्खुको प्रदर्शनले राप्रपाले पुग-नपुग २ देखि ३ हजारसम्म कार्यकर्ताको उपस्थित गराउन सक्यो। उपस्थितिको हिसाबले प्रसाईं भन्दा राप्रपा कमजोर देखियो।

प्रसाईंको जस्तो अराजक भएन आन्दोलन

बल्खुको प्रदर्शन आज शान्तपूर्ण रह्यो। सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो भने प्रदर्शनकारीहरू पनि निकै संयमित देखिएका थिए।

कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट निकालिएको थियो। जुलुसमा सहभागीहरुले पृथ्वीनारायण शाहको फोटो, नेपालको राष्ट्रिय झण्डा र पार्टीको झण्डा पनि बोकेका थिए। राप्रपाले जुलुस र सभालाई व्यवस्थित गर्न दर्जनौंको संख्यामा स्वयंसेवकहरु परिचालन गरेको थियो।

चैत १५ गते तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शन हिंसात्मक भएकाले बाक्लो संख्यामा सुरक्षाकर्मीहरुको परिचालन गरिएको थियो। बल्खुको सभास्थलमा एम्बुलेन्स, नेपाल रेडक्रस सोसाइटी, मानव अधिकारकर्मी लगायतको टोली पनि परिचालन गरिएको छ। चैत १५ को प्रदर्शनमा भने यस्तो दृष्य देखिएको थिएन।

राप्रपाका अधिकांश नेताहरूले पक्राउ परेका आफ्ना नेताहरूलाई विना सर्त रिहाइ गर्नुपर्ने र राजासहितको व्यवस्थाका लागि गणतन्त्र पक्षधर दलहरू तयार हुनुपर्ने सन्देश दिएका थिए। तोडफोड, मुड्भेड र अराजक बन्ने किसिमको नेताहरूमा मनशाय पनि देखिएन।

तीनकुनेमा राप्रपा पनि सहभागी भएको प्रदर्शनको कमान्डर थिए दुर्गा प्रसाईं। उनी अहिले फरार छन्। आज मात्रै जिल्ला अदालत काठमाडौंले तीनकुने घटनामा पक्राउ परेका मिश्र र राणाविरूद्ध राज्यविरूद्धको अपराध थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको छ।

आजको सभालाई सम्बोधन गर्दै अधक्ष्य राजेन्द्र लिङ्देनले आफ्ना नेताहरूलाई रिहाई गर्नुपर्ने माग गरे। उनले तीनकुनेमा भएको घटनामा दुर्गा प्रसाईँलाई भगाएर सरकारले आफ्ना नेतामाथि धरपकड गरेको आरोप लगाए।

‘दुर्गा प्रसाईँलाई पक्रिन सक्नुहुन्थ्यो। दुर्गा प्रसाईँलाई ढुक्कले सटरभित्रबाट निकालेर पठाउनुभयो तर, मञ्चमा बसेको नेतालाई बोल्न नदिई लखेट्नुभयो,’ उनले भने, ‘दुर्गा प्रसाईंलाई पक्राउ गर्नुपर्थ्यो। तर, उनलाई प्रहरीले नै ढुक्कले निकालेर पठायो। मञ्चमा भाषण गरेका नेतालाई अश्रुग्यास बर्सायो।’

पुलिसको फन्दाभित्र परेको दुर्गा प्रसाईंलाई निकालेर पठाएर प्रहरीले मञ्चमा भाषण गरिराखेका नेताहरूलाई अश्रुग्यास हानेको पनि अध्यक्ष लिङ्देनले बताए।

आफूले गरेको फोहोर आफैं सफा

राप्रपाले बल्खुमा आफ्नो कार्यक्रम सकेसँगै फोहोर संकलन आफैं गर्यो। काठमाडौं महानगरका प्रमुख बालेन शाहले जरिवाना गर्नसक्ने अवस्थालाई मध्यनजर गदै राप्रपाका नेता, कार्यकर्ताहरू आफैं जुटेर फोहोर संकलन गरे।

उद्घोषकले पनि भनेका थिए, ‘एकजना पत्र काट्न तयार भएर बसेको छ। त्यो पत्र आउँछ। पानीको बोतल तपाईंले बोक्नुभएको भए पनि तपाईंको नाम थाहा नभएर राप्रपामा पत्र आउँछ।’

केहीबेरमा सम्बोधन गरेका अध्यक्ष लिङ्देनले मेयर बालेनको नाम लिँदै आफैं सफा गर्ने बताएका थिए। ‘बालेनजीलाई धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु,’ उनले भनेका थिए,‘हाम्रा साथीहरूलाई आफैं सफा गरेर जान आग्रह गर्छु।’

फोहोर सफा गरेपछि बालेनले पनि फेसबुकमा एक स्टाटस राख्दै राप्रपालाई धन्यवाद दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार