

काठमाडौं । २०७४ पछि दुईतिहाई नजिकको शक्तिशाली सरकार र वामपन्थी पार्टी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जोगाउन नसकेको पछुतोमा रहेका माओवादी केन्द्रका अधक्ष्य पुष्पकमल दाहाल प्रचण्ड बेलाबेला वामपन्थी एकताको कुरा गरिरहन्छन्। उनलाई अझै पनि वाम एकता गराएर देशमा कम्युनिष्ट शक्तिहरू एक गराउने चाहना रहेको उनकै अभिव्यक्तिहरूले पुष्टि गर्छ। खासमा नेकपा जोगाउन नसकेकोमा उनलाई अझै पछुतो छ।
मंगलबार प्रगतिशील लेखक संघको १३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै प्रचण्डले एक पटक फुट भएपछि अब कुनै हालतमा कम्युनिस्ट एकता हुँदैन भनेर सोच्न नहुने बताए। ‘हिजो विभाजन भएकाले अब एकता असम्भव छ भन्नु चाहिँ माक्र्सवादी सोचाइ हुन सक्दैन। त्यो द्वन्द्वात्मक भौतिकवादी हुन सक्दैन,’ प्रचण्डले भने।
यसअघि पटक-पटक कम्युनिस्ट एकताका प्रयास भए पनि सोचेजस्तो हुन नसकेको भन्दै उनले थपे, ‘कम्युनिस्ट एकताका प्रयास नभएका होइन। कहिले त्यो सफलजस्तो कहिले असफलजस्तो हुने गरेका छन्। पछिल्लो चरणमा देशका दुईवटा अलि प्रभावशाली कम्युनिस्ट पार्टीका बीचमा एकताका प्रयास भए। एकता भयो पनि। सबैले अनुमोदन पनि गरे। तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं।’
प्रचण्डले भनेजस्तै नेकपाको विभाजनपछि लामो समय एक अर्कामा पानी बाराबारको स्थितिमा रहेका ठूला वामपन्थी दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) र एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादी पनि अघिल्लो सत्ता गठबन्धनमा सामेल भएपछि वाम एकताको चर्चा चलेकै थियो।
एकीकृत समाजवादीसँग त पहिल्यैदेखि एकताको प्रक्रिया अघि बढाइसकेका प्रचण्डले त्यसबेलादेखि अहिलेसम्म पनि एमाले सँगको एकतालाई भने बढी महत्व दिएको देखिन्छ।
एमालेसँगको एकतालाई जोड दिंदै प्रचण्डले भनेका छन्, ‘हामी विभाजित पनि भयौं। कहिलेकाहीँ एक अर्काप्रति आलोचना पनि गरेका छौं। तर, हामीले एकताको झण्डा चाहिँ छाडेका छैनौं। अन्ततः फेरि वामपन्थी कम्युनिस्ट भन्नेहरू एक ठाउँमा आएर अघि बढ्नुपर्छ।’
विद्या भण्डारीलाई अघि सारेर फेरि वाम एकता गर्ने चाहना
दुई कार्यकाल मुलुकको राष्ट्रपति भएर पदमुक्त भएकी तत्कालीन एमाले नेतृ विद्या भण्डारीलाई अघि सारेर एमाले-माओवादी सहकार्य थालिएको लामै समय बितिसक्यो।
हुन पनि माओवादी र एकीकृत समाजवादी पनि एमालेसँगको एकताका लागि अधक्ष्य केपी शर्मा ओली नै बाधक रहेको ठान्छ। एमालेमा भण्डारीको सक्रिय राजनीतिक आगमनको संकेतले सशंकित भएका ओलीलाई चुनौती दिन माओवादीले पनि एमालेमा भण्डारीलाई एकताको मिलनविन्दु बनाउन खोजेको देखिन्छ।
त्यसका लागि पूर्वराष्ट्रपति भण्डारीले पनि आन्तरिक तयारी गरिरहेकी छन्। राष्ट्रपति हुनुअघि उपाध्यक्ष रहेकी उनले २०८० वैशाख १ गते नयाँ वर्षको अवसर पारेर संगठन विभाग प्रमुख काशीनाथ अधिकारीमार्फत् एमाले पार्टी सदस्यता नवीकरण गराइसकेकी छन्। त्यसयता पनि पछिल्लो समय राजनीतिक भेटघाटमा सक्रिय छिन्।
यसबीचमा उनले पूर्वी भोजपुरदेखि पश्चिम लुम्बिनीसम्म पुगेर एमाले कार्यकर्ताहरूसँग आफू राजनीतिमा फर्किन लागेको भन्दै राय लिइरहेकी छन्। उता, प्रचण्डको हरेक पटकको धोका र अस्थिर राजनीतिक संस्कारले आजित भएको एमाले अब प्रचण्डको राजनीतिक व्यवस्थापन बेगर सहकार्य नगर्ने निष्कर्षमा पुगेको बताइन्छ।
२०७४ को निर्वाचन अघि भएको एमाले माओवादी सहकार्य पार्टी एकतासम्म पुगेको थियो। निर्वाचन पछि भएको दुई पार्टीबीचको एकता करिब दुई बर्ष पनि टिक्न सकेन। पार्टीका अध्यक्षद्वयबीचको तिक्तताले राजनीतिक विभाजनको संघारमा पुगेको तत्कालीन नेकपा सर्वोच्च अदालतको फैसला पछि प्राविधिक रुपले दुई पार्टी पूर्ववत् स्थानमा पुगेका थिए।
त्यसैले पनि ओली नेतृत्वको एमालेले आफूलाई नस्विकार्ने भएपछि एमालेमा भण्डारीलाई ल्याएर सहकार्य गर्ने अनि आफ्नो सक्रिय राजनीतिक जीवनबाट बहिर्गमित हुने प्रचण्डको दाउ छ।
पूर्वउपराष्ट्रपतिको सक्रियता पनि प्रचण्डकै योजनामा
गएको आइतबार प्रचण्डले उपराष्ट्रपति भइसकेका नन्दबहादुर पुन ‘पासाङ’लाई माओवादीको उपाध्यक्षमा मनोनीत गर्दै सक्रिय राजनीतिमा फर्काए। पूर्वउपराष्ट्रपति पुन सक्रिय राजनीतिमा फर्कन नहुने मत माओवादीभित्रै बलियो थियो। लेखनाथ न्यौपाने, ईन्द्र आङ्बो लगायतका नेताहरूले ‘सम्माननीय’ भइसकेकाहरू सक्रिय राजनीतमा आउन नहुने मत राखेका थिए।
केन्द्रीय सदस्य सुदन किरातीले पुसको केन्द्रीय समिति बैठकमा भनेका थिए, ‘पूर्वउपराष्ट्रपति राजनीतिमा आउने कुराले राम्रो सन्देश जाँदैन। १२ हातको सरस्वतीलाई ३ हातको मन्दिरमा नराखौं।’ तथापि माओवादी ‘हेडक्वाटर’को अगाडी कसैको केही लागेन।
अर्कोतिर एकैपटक मुलुकको सर्वोच्च दुई पदमा आसिन हुन पुगेका पूर्वराष्ट्रपति भण्डारी र पुन सक्रिय राजनीतिमा फर्कने चर्चा पनि सँगसँगै सुरू भएको थियो।
गएको १४ माघ गते विराटनगर भण्डारीले पूर्वउपराष्ट्रपति पुन माओवादीमा फर्किन लागेको बारे आफूलाई खुसी लागेको र शुभेच्छा प्रकट गर्ने बताएकी थिइन्।
‘उहाँ युवा हुनुहुन्छ, अनुभव छ। राजनीति गरेर आउनु भएको हो। म राष्ट्रपति, उहाँ उपराष्टपति भएर सात वर्ष सहकार्य गरेको हो। खुसी नै लागेको छ, मेरो शुभेच्छा छ’, पूर्वराष्ट्रपति भण्डारीले भनेकी थिइन्। नभन्दै, भण्डारीलाई सहज हुने गरी पुन राजनीतिमा फर्किए।
स्रोतका अनुसार पार्टीभित्रकै विवादका बीच पनि पुनलाई माओवादीमा फर्काएर भण्डारीलाई एमालेमा फर्किन सजिलो बनाउने रणनीति भने प्रचण्डकै हो। पुनलाई राजनीतिमा फर्काएर भण्डारी पनि सहज गराउँदै एमाले-माओवादी सहकार्या वा एकतासम्मै पुग्ने प्रचण्डको रणनीति रहेको स्रोत बताउँछ।