रविमाथि ज्यादती भएको भन्दै रास्वपाद्वारा मानवअधिकार आयोगको ध्यानाकर्षण-Sutra News

रविमाथि ज्यादती भएको भन्दै रास्वपाद्वारा मानवअधिकार आयोगको ध्यानाकर्षण

बुधबार, २७ चैत्र २०८१

बुधबार, २७ चैत्र २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।



आयोगको ध्यानाकर्षण गराउन बुधबार बिहान कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेत सन्तोष परियार लगायतका नेताहरु आयोगको कार्यालयमा पुगेका थिए । उनीहरुले लामिछानेको मानव अधिकार रक्षाका लागि आयोग पदाधिकारीको ध्यानाकर्षण गराए । सहकारीको रकम ठगेको कसुरमा चैत २२ गते शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न दिएको आदेश बदर गर्दै उच्चले पुर्पक्षमा पठाउन आदेश दिएपछि सोही दिन राति लामिछानेलाई प्रहरीले काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको थियो ।

भोलिपल्ट शनिबारको सार्वजनिक बिदा भएकाले दुई रात हिरासतमा राखेर २३ गते मात्रै उनलाई भैरहवा कारागार चलान गरिएको थियो । रविलाई पक्राउ पुर्जीविना नियन्त्रणमा लिएको र प्रहरीले ज्यादती गरेको भन्दै रास्वपाले विरोध जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार