

काठमाडौं । कांग्रेस–एमाले गठबन्धन सरकारको पैरवी गर्नेमा कांग्रेस महामन्त्री गगन कुमार थापा पनि अग्रपंक्तिमा देखिन्थे । सरकार गठनदेखि नै थापाले सरकारमाथि प्रश्न उठाउने शैलीमा खास अभिव्यक्ति दिइरहेका थिएनन् ।
तर, पछिल्लो समय उनले बोली फेर्न थालेका छन् । महामन्त्री थापाले पनि सरकारको समीक्षा अनिवार्य रहेको बताउन थालेका छन् । अहिलेकै शैलीमा सरकार अगाडि बढ्दा कांग्रेसकै भविष्यमाथि प्रश्न उठ्ने उनको भनाई छ ।
“हामी सरकारमा छौँ, हाम्रो जिम्मेवारी पनि छ, सरकारको बारेमा पनि हामीले अब अलिकति खुलेर छलफल गर्नुपर्ने बेला आएको छ”, सोमबार तनहुँ पुगेका कांग्रेस महामन्त्री थापाले भनेका छन्, “सरकारको गति ठिक छैन, जुन तरिकाले कामहरू गर्नुपर्ने हो, जसरी सरकारका कामहरूबाट नागरिकलाई भरोसा सिर्जना गर्नुपर्ने हो, त्यो हुन सकिरहेको छैन, यसले एकातिर सरकारको आयुमाथि प्रश्न उठाउँछ भने अर्कोतिर कांग्रेसकै भविष्यमाथि प्रश्न उठाउँछ ।”
थापा सरकार गठनदेखि नै सरकारलाई स्थायित्व दिनुपर्ने पक्षमा देखिएका थिए । उनले सरकारमाथि प्रश्न उठ्ने शैलीमा अभिव्यक्ति दिन नहुने धारणा पनि राख्दै आएका थिए । तर, थापाको एकाएक फेरिएको शैलीले सरकारबारे कांग्रेसभित्र व्यापक असन्तुष्टि बढ्दै गएको देखाउँछ ।
डा. शेखर कोइराला समूह मात्रै नभई अन्य नेताहरू पनि क्रमशः सरकारबारे खुल्न थालेको देखिन्छ ।
विशेषगरी अहिले सडकमा एकपछि अर्को नाममा प्रदर्शन भइरहेको छ भने सरकारकै कामलाई लिएर सरकार पक्षीय नेताहरूले नै सुखद प्रतिक्रिया दिन सकिरहेका छैनन् । सँगै, केही नियुक्ति र बर्खास्तीका विषयले पनि सरकारमाथि एकपछि अर्को गरी प्रश्न उठाइरहेको छ ।
जसमा बाह्य राजनीतिक कारणहरू पनि जोडिएको पाइन्छ ।
तर, परिस्थिति अनुकूल नदेखिइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली भने ढुक्क देखिएका छन् । उनले सरकार पूर्वसहमतिअनुसार नै अगाडि बढ्ने बताइरहेका छन् ।
प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्नेहरू र सरकार ढल्छ भन्नेहरू नै कमजोर भइसकेको पनि दाबी गर्न थालेका छन् ।
“तपाईँहरू ढुक्क हुनुस्, एमाले र कांग्रेसजस्ता पुराना र ठुला पार्टीको सरकारले यो संविधान र व्यवस्थाको रक्षा गर्दै जनतालाई समृद्धि र सुशासन दिएर छाड्छ, यो सरकार चुनावसम्म टसमस हुँदैन”, मंगलबार एमालेको पार्टी जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै ओलीले भनेका छन्, “सरकार अहिले ढल्छ, भरे ढल्छ भन्नेहरू अब थाके, यो मजबुत सरकार हो ।”
सँगै, प्रधानमन्त्री ओलीले कांग्रेस नेतृत्वलाई आफ्नो तर्फबाट सहमति पालना हुनेमा ढुक्क हुन पनि आग्रह गरेका छन् । उनले अबको १५ महिनापछि सरकारको नेतृत्व हस्तान्तरण हुने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
“अबको १५ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई म हस्तान्तरण गर्छु, सहमति तलमाथि हुँदैन”, ओलीले ढुक्क बनाउँदै भनेका छन् ।
घटनाक्रम केही अनुकूल, केही प्रतिकुल
अहिले सडकमा विभिन्न नाममा आन्दोलन छन्, ति आन्दोलनलाई हेर्दा सरकार अनुकूल सन्देश जनतामा गइरहेको छैन । राजसंस्थावादीहरू व्यवस्था फर्काउने भन्दै आन्दोलनमा उत्रिँदा विपक्षीहरू सरकारविरुद्ध खबरदारी गर्दै सडकमा छन् । सँगै, कुलमान घिसिङका समर्थक, सरकारी शिक्षकहरू र चिकित्सकहरू पनि आन्दोलनमा छन् ।
यद्यपि, योबिचमा राजसंस्थावादीको आन्दोलन निकै कमजोर हुने अवस्था बनेको छ । चैत १५ मा भएको तीनकुने प्रदर्शन हिंसात्मक बनेसँगै राजसंस्थावादीको पक्षमा माहौल बिग्रिएको छ । जुन घटनापछि केही पक्राउ परेका छन् भने प्रदर्शनको नेतृत्वकर्ता स्वयं दुर्गा प्रसाइँ फरार छन् ।
जसको प्रभावस्वरुप काठमाडौंमा बल्खुमा चैत २६ मा राप्रपा नेपालले गरेको प्रदर्शनमा जनता सहभागी हुने अवस्था बनेन । बल्खु प्रदर्शन निकै कमजोर बन्यो ।
जुन ओली सरकारका लागि निकै अनुकूलित घटना बनेको छ ।
तर, योबिचमा सरकारबाट भएका मनमौजी नियुक्ति र बर्खास्तीले भने सरकारमाथि जनतामा निकै आक्रोश बढाएको छ । विशेषगरी कुलमान घिसिङ बर्खास्तीको घटनाबाट जनता निकै असन्तुष्ट छन् ।
सडकमा स्वतःस्फूर्त देखिएका प्रदर्शनले पनि सरकार निकै अलोकप्रिय बन्दै गएको देखिन्छ । जुन प्रदर्शन जे–जस्तो भए पनि सरकारमाथि भने प्रश्न उठाइरहेको छ ।
सँगै, केही विवादित प्रकृतिका नियुक्तिले सरकारको सुशासनमाथि प्रश्न उठाएको छ । धितोपत्र बोर्डको नियुक्ति होस् वा नीति नै मिचेर गरिएको बिमा प्राधिकरणको नियुक्ति होस् सरकारमाथि प्रश्न देखिन्छ । अहिले गभर्नरको नियुक्ति पनि निकै पेचिलो बनेकोमा दुविधा छैन ।
सरकारका निम्ति सबैभन्दा प्रतिकुलित घटना हो, छिमेक सम्बन्धमा बढेको दुरी । न चीनसँग राम्रो सम्बन्ध बन्न सक्नु न त भारतसँग । यसले सरकारलाई बाह्य सन्तुलनमा समस्या बनाएको देखिन्छ ।
पछिल्लो पटक बैंककमा भएको नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिचको ‘वान टु वान’ वार्ता पनि सफल नभएको घटनाले सरकारलाई असजिलो बनाएको देखाउँछ । यद्यपि, प्रधानमन्त्री ओलीले भने सरकार पूर्ण ‘कम्फर्ट जोन’मै रहेको दाबी गर्ने गरेका छन् ।