देउवाले कांग्रेसबाट निकालिदिएपछि बिरक्तिएका कर्ण मल्ल पूर्वराजाको शरणमा !-Sutra News

देउवाले कांग्रेसबाट निकालिदिएपछि बिरक्तिएका कर्ण मल्ल पूर्वराजाको शरणमा !

बुधबार, २७ चैत्र २०८१

बुधबार, २७ चैत्र २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट निकालेका कांग्रेस नेता कर्णबहादुर मल्ल अन्ततः पूर्वराजा ज्ञानेन्द्र शाहको शरणमा पुगेका छन्। कुनै बेला देउवाका प्रिय पात्र मल्ल आजदेखि राजावादी कित्तामा देखिए।



डडेलधुरा जिल्ला सभापतिसमेत भएका मल्ल देउवासँगकै द्वन्द्वका कारण कांग्रेसबाट निकालिएका थिए। कांग्रेसबाटै प्रदेश सभा सदस्यसमेत भएका मल्लले पछि नेपाली कांग्रेस बिपीमा यात्रा थालेका थिए।

तर उक्त पार्टीका अधिकांश पदाधिकारीलाई कांग्रेसले आफूमा विलय गराएपछि एक्लिएका उनी अब राजावादी बनेका हुन्।

मल्ललाई देउवाले १४औँ महाधिवेशनमा जिल्ला अधिवेशनदेखि नै वञ्चित गरी महाधिवेशनमा सहभागी हुनबाट रोकेका थिए। नेता विमलेन्द्र निधि क्याम्पमा उभिन पुगेपछि संकटमा परेका मल्ल त्यसपछि नेपाली कांग्रेस बीपीमा गएर उपसभापति बने।

डा. जगमान गुरुङ नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बुधबार काठमाडौंमा गरेको प्रतिबद्धता सभामा मल्ल पनि मञ्चमै देखिएका हुन्। देउवाले राजावादी भएकै कारण आफूलाई पार्टीबाट निकालेको मल्लले स्वीकार गरे।

‘म कांग्रेसमै हुँदादेखि राजावादी थिएँ। राष्ट्रवादी भएकैले मलाई देउवाले पार्टीबाट निकालेका हुन्,’ उक्त राजावादी अभियानको बैठकबाट बाहिरिएपछि उनले भने, ‘अहिले हामी फेलियर स्टेट (असफल राष्ट्र)मा छौँ। यहाँ न्यायपालिकाकाले काम गर्न सकेको छैन, सरकार सरकारजस्तो छैन । राज्यका कुनै पनि अंंगले काम गर्न सकेका छैनन्।’

उनले देश जोगिए राजावादी वा लोकतन्त्रवादी हुन पाइने भन्दै आफू देश जोगाउने अभियानमा लागेको दाबी गरे। देश कसरी र कोबाट असुरक्षित छ ? भन्ने प्रश्नमा उनले त्यस्तो जोखिम तपाईंले देख्नुभएको छैन ? भन्दै कुरा टुंग्याए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार