

काठमाडौं । अघिल्ला वर्षको तुलनामा यसपालि नेपाली फिल्मको व्यापार उत्साहजनक देखियो। राज्यले उद्योगको दर्जा समेत नदिएको यस फिल्म क्षेत्रबाट एउटै फिल्मले झन्डै आधा अर्बको व्यापार गर्ने ऐतिहासिक वर्ष बन्यो, २०८१।
‘पूर्ण बहादुरको सारंगी’ सर्वकालिन धेरै कमाउने नेपाली फिल्म बनेको हो। सरकारको आधिकारिक बक्सअफिसमा उल्लेख भए अनुसार यो फिल्मले ४६ करोड ८० लाख रुपैयाँ ग्रस कमाउँदै यस फिल्मले इतिहास रच्यो।
‘पूर्ण बहादुरको सारंगी’ले सर्वाधिक व्यापारमा मात्र हैन, स्टार बिना पनि फिल्म चल्न सक्छन् भन्ने भाष्य बनायो। एकताका राजेश हमाल, विराज भट्ट, भुवन केसी, करिश्मा मानान्धर, रेखा थापालगायतका स्टार राखेपछि मात्र फिल्म चल्छ भन्ने मानसिकताबाट गुज्रिएको नेपाली सिनेनगरीले ‘पूर्ण बहादुरको सारंगी’बाट नराम्रो धक्का पायो।
नेपालको ग्रामीण परिवेश र सामाजिक विषयवस्तुलाई उजागर गरी सामाजिक चेतना अभिवृद्धिमा समेत महत्वपूर्ण भूमिका खेलेको फिल्मकर्मीहरू बताउँछन्। यसले सुस्ताएको नेपाली फिल्म क्षेत्रलाई उत्साहित मात्रै बनाएन, नेपाली दर्शकलाई हलसम्म ल्याउने वातावरण पनि बनायो।
यो वर्ष विशेषगरी नाम चलेका कलाकारभन्दा पनि विषयवस्तुमा आधारित चलचित्रमा दर्शक आकर्षित भएका छन्। त्यसै पनि यसअघि बन्ने गरेका नेपाली फिल्महरूमा बलिउड र हलिउड कथा चोरेर फिल्म बनाउने प्रवृति बढ्दा नेपाली फिल्म क्षेत्र खसेको थियो। पछिल्लो समय भने नेपाली मौलिक कथा र उस्तै सुहाउँदा कलाकार राखेर फिल्म बनाउन थालेपछि नै नेपाली फिल्म क्षेत्रले फड्को मार्न थालेको हो।
त्यसो त ‘पूर्ण बहादुरको सारंगी’ले मात्र नभएर अन्य फिल्मले पनि यसपाली सम्झिनयोग्य व्यापारिक सफलता हाँसिल गरेका छन्। त्यसमा ‘डिग्री माइला’, ‘बोक्सीको घर’, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’, ‘होस्टेल ३’ र ‘अञ्जिला’ले राम्रो व्यापार गरेका छन्। यसले पुष्टि गर्छ कि, यसपाली मौलिक कथा र नयाँ अनुहारलाई विश्वास गरेका छन्।
यस्तो छ टप-टेन व्यापार गर्ने फिल्मको सूची :
१) पूर्णबहादुरको सारंगी- ४६ करोड ८० लाख रुपैयाँ ग्रस
२) १२ गाउँ- १९ करोड ९२ लाख रुपैयाँ ग्रस
३) छक्कापञ्जा ५- १५ करोड २० लाख ग्रस
४) बोक्सीको घर- १० करोड २ लाख ग्रस
५) अञ्जिला- ७ करोड ५० लाख रुपैयाँ ग्रस
६) पूजार सार्की- ७ करोड ३७ लाख रुपैयाँ ग्रस
७) घरज्वाइँ- ५ करोड ९ लाख रुपैयाँ ग्रस
८) फर्की फर्की- ४ करोड ८४ लाख रुपैयाँ ग्रस
९) मनसरा- ४ करोड ७८ लाख रुपैयाँ ग्रस
१०) लाज शरणम्- ४ करोड ३४ लाख रुपैयाँ ग्रस
समीर उदाउँदा विजयले इतिहास रचे
नेपाली फिल्ममा गतिलो कथा अनि पटकथाको अभाव त छ नै, मूल चरित्रमा अभिनय गर्ने गतिलो अभिनेताको पनि खडेरी नै छ। त्यसैले कुनै एक अभिनेताको फिल्म चल्यो कि उनैको अभिनय भएको फिल्मको लाइन लाग्छन् हलमा।
केही फिल्म व्यापारिक रूपमा सफल भएपछि दयाहाङ राई सबैभन्दा धेरै व्यस्त भए। एकै खालको क्यारेक्टर भए पनि हप्तैपिच्छे मात्रै हैन, एकै हप्तामा दयाहाङकै दुई फिल्मसम्म रिलिज भए। तर उनका पनि केही फिल्म चले केही फल्प मात्र हैन, सुपरफ्लप समेत भए।
त्यसका अलावा सधैं देखिइरहेका अभिनेताहरू भनेका, प्रदीप खड्का, अनमोल केसी, पल शाह, विपिन कार्की अनि सौगात मल्ल नै हुन्। दर्शकहरू पनि घुमिफिरी उनीहरूकै फिल्म हेर्नु पर्ने बाध्यतामा थिए/छन्। निर्माताहरू पनि उनीहरू नै रोज्न बाध्य थिए। तर यो वर्षाले नयाँ दुई अभिनेताहरू दियो, जसमा अथाह सम्भावना देखिए।
फिल्म ‘१२ गाउँ’बाट नेपाली फिल्ममा प्रवेश गरे समीर भट्ट बलियो कलाकारका रूपमा उदाए। निखिल उप्रेती अनि उनै समीरका बाबु बिराजको एक्सन फिल्महरू हेरेका दर्शकले त्यस्तै एक्सनले भरिएको फिल्म नहेरेको लामै समय बितिसकेको थियो। जुन अभाव समीरले पूरा गरिदिए। अझ त्यसमा अभिनय पनि उस्तै गज्जब गरेकै कारण उनलाई दर्शकले माया पनि गरे।
यसै वर्ष साइड रोलबाट मेन रोलमा प्रवेश गरेर आफूलाई प्रमाणित गरे विजय बरालले। त्यसअघि फिल्महरूमा सहायक भूमिकामा मात्र थिए तर फिल्म ‘पूर्ण बहादुरको सारंगी’बाट मूख्य भूमिका उनले आफूलाई खरो साबित गरेर देखाइदिए।
फरक समाज अनि फरक परिवेशमा उस्तै सामाजिक कथाका लागि बलियो अभिनेताको रूपमा उदाए विजय बराल ‘पूर्ण बहादुरको सारंगी’बाट। उनले फिल्मको मूल चरित्रमा अभिनय गर्दा एक्लै फिल्म बोक्ने ल्याकत राख्छन् भन्ने पुष्टि गरे। जुन कुरा दर्शकले पनि स्वागत गरे।
यसपाली अभिनेत्री अञ्जना बराइली पनि नेपाली सिनेनगरीमा सम्भावना बोकेकी अभिनेत्रीका रूपमा उदाइन्। लगातार ‘महापुरुष’, ‘पुजार सार्की’ र सर्वकालीन ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ले उनलाई फिल्मकर्मीको नजरमा पुर्याइदियो।
चरित्रमा आफूलाई ढाल्न सक्ने खुबी भएकी अञ्जना पछिल्लो समय रुचाइएकी छिन्। ‘पूर्णबहादुरको सारङ्गी’मा उनले निर्वाह गरेको चरित्र बाटुली सशक्त चरित्र चित्रण हो, जसले छोराको भविष्यका लागि श्रीमानसँग लडाइँ लड्छिन्। त्यही फिल्मबाट उनको अभिनय क्षमताको तारिफ भएको थियो, जसलाई दर्शकले पनि मन पराएका हुन्।