फरार प्रसाईंले भने- तीनकुने घटनाका मृतकका परिवारलाई ५/५ लाख दिन्छु, जोगिनको लागि भागें-Sutra News

फरार प्रसाईंले भने- तीनकुने घटनाका मृतकका परिवारलाई ५/५ लाख दिन्छु, जोगिनको लागि भागें

बुधबार, २७ चैत्र २०८१

बुधबार, २७ चैत्र २०८१

काठमाडौं । गएको १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनपछि भागेका व्यवसायी दुर्गा प्रसाईं फेरि गुप्त स्थानबाट नयाँ भिडिओमा प्रस्तुत भएका छन्। उनले आफ्नो सुरक्षा ग्यारेन्टी गरिएको खण्डमा २४ घन्टाभित्रै सार्वजनिक हुने घोषणा गरे।



प्रसाईंको सचिवालयको फेसबुक पेजबाट सार्वजनिक भएको साढे आठ मिनेट लामो भिडिओमा प्रसाईंले आफू नेपालमै रहेको बताएका छन्।

‘दुर्गा प्रसाईं अहिले ‘हरहर दुर्गा घरघर’ दुर्गा भएको छ। दुर्गा भनेको विचार हो। म भागेको होइन, जोगिएकोमात्र हो। म रहेँ भने यो अभियान र जनविद्रोह सफल हुन्छ। म रहिनँ भने यो जनविद्रोह नै समाप्त हुन्छ, उनले भने।

उनले गत चैत १५ को आन्दोलनमा मारिएका दुई युवाको परिवारलाई ५-५ लाख रुपैयाँ दिने घोषणा गरे। आफू बाहिर आएपछि उक्त रकम दिने उनको भनाई छ।

‘१५ गते दुई पत्रकारको जुन मृत्यु भयो, म हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु। उहाँहरु दुवैका परिवारलाई ५-५ लाख रुपैयाँ आर्थिक सहयोग गर्नेछु। सरकारले राहत दिन्छ कि दिँदैन थाहा छैन, म चाहिँ निस्किएर आएपछि दिन्छु,’ उनले भने।

उनले आफू नभागेको भन्दै थपे, ‘म जोगिएकोमात्र हो। त्यो दिन कस्ता कस्ता मान्छेले घरका छतबाट कसरी ताकेका रहेछन् भन्ने भिडिओ बाहिर आइरहेका छन्। म भाग्न जन्मेको होइन। विवश भएर हो।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार